सहुलियत पसलमा बढ्यो उपभोक्ताको भिड
2023-10-17 16:28:26cri
Share with:

नेपालीको महान् पर्व दसैँ नजिकिएसँगै बजारमा भिडभाड बढेको छ। दसैँ पर्व हुनेखानेको मात्रै नभएर हुँदा खानेको पनि पर्व भएकाले सबै जना दसैँका लागि किनमेलमा व्यस्त छन्।

दसैँको दोस्रो दिन बजारमा दसैँका लागि खाद्यवस्तु, लत्ताकपडा तथा आवश्यक वस्तुको जोहो गर्नेहरूको भिड लागेको हो। योसँगै यति बेला आर्थिक कारोबार पनि बढेको छ। आमनागरिकले अन्य समयको तुलनामा बढी खर्च गर्ने हुनाले यति बेला आर्थिक गतिविधि पनि बढेको छ।

दसैँलाई लक्षित गरी सरकारले गत असोज १ देखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल दुग्ध विकास संस्थान (डिडिसी) मार्फत सहुलियत मूल्य पसल पनि सञ्चालनमा ल्याएको छ। ती पसलमा खाद्यवस्तुका सामान खरिद गर्ने सर्वसाधारणको भिड दिनप्रतिदिन बढ्दै गएको छ।

खाद्य कम्पनीले उपत्यका चार स्थानसहित देशका विभिन्न आठ ४८ स्थानमा सञ्चालित सहुलियत मूल्य पसलमा उपभोक्ताको भिड दिनदिनै बढेको सो कम्पनीले जनाएको छ। साल्ट टे«डिङ कर्पोरेसनले उपत्यकामा आठसहित उपत्यकाबाहिर जिल्लामा गरी ४३ स्थान सहुलियत पसल सञ्चालन गरेको छ। कर्पोरेसनले उपत्यकामा तीन वटा मोबाइल भेनमार्फत पनि सेवा दिँदै आएको छ।

सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले कम्पनीले आफ्ना बिक्री केन्द्रमार्फत सहुलियत मूल्य बिक्री गर्दै आएका खाद्यवस्तुमा सबैभन्दा धेरै चामल बिक्री भएको जानकारी दिनुभयो। उहाँका अनुसार उपत्यकाको हकमा भने चामलसँगै चिनो, कागुनो र कर्णालीको सिमीको बढी माग आएको छ। कम्पनीको बढी बिक्री गर्ने लक्ष्य चामल भए पनि उपभोक्ताको बढी आकर्षण चिनो र कागुनोमा भएको उहाँको भनाइ छ। अन्य बजारको तुलनामा सरकारले सञ्चालनमा ल्याएको सहुलियत मूल्य पसलमा खाद्यवस्तुको मूल्य सस्तो भएकाले सर्वसाधारण उपभोक्ताको भिड लाग्नु स्वाभाविक भएको बताइएको छ।

सो कम्पनीले सहुलियत मूल्य पसलमार्फत उपत्यका ग्राहकलाई ध्यानमा गरी अनलाइन डेलिभरीलाई प्राथमिकता दिएको गोरखापत्र अनलाइनले लेखेको छ। कम्पनीले उपत्यकाका चक्रपथभित्र अनलाइन डेलिभरीको सेवा दिँदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले जानकारी दिनुभयो। गत वर्ष उपत्यका सबै ठाउँमा डेलिभेरी सेवा दिएका कम्पनीले यो पटक भने उपत्यकाको चक्रपथमा मात्रै सीमित गरेको जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतले इपेमेन्ट र अनलाइन डेलिभरीलाई प्राथमिकता दिएकाले विद्युतीय भुक्तानी गर्ने ग्राहकको सङ्ख्या पनि पहिलेको तुलनामा बढेको जानकारी दिनुभयो।

साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार कर्पोरेसनबाट चामल, नुन, दाल, खाने तेल, चिउरालगायतको सहुलियतमा बिक्री हुँदै आए पनि सबैभन्दा बढी भिड चिनी किन्नेको छ। कर्पोरेसनबाट सामान किन्नेमध्ये आधा लगभगले पछिल्लो पटक विद्युतीय भुक्तानीमार्फत पैसा तिर्ने गरेको कर्पोरेसनले जनाएको छ।

पछिल्लो पटक चिया पसल, तरकारी पसल, फेन्सी पसल, होटलदेखि ठुल्ठुला व्यापारिक तथा कर्पोरेट हाउसमा सहजै क्युआरमार्फत भुक्तानी गर्न सकिने व्यवस्था छ। पछिल्लो तीन आर्थिक वर्षमा डिजिटल भुक्तानी झन्डै तेब्बरले बढेको र बढ्ने क्रम जारी रहेको राष्ट्र बैङ्कले जनाएको छ।