विश्वकप फुटबल छनोट: लाओसलाई हराएर नेपाल दोस्रो चरणमा
2023-10-18 16:17:12cri
Share with:

 

मनिष डाँगीको गोल निर्णायक बनेपछि नेपालले मङ्गलबार लाओसलाई उसकै घरेलु मैदानमा १–० ले हराएर फिफा विश्वकप फुटबल छनोट २०२६ को पहिलो चरण पार गर्न सफल भएको छ।

लाओसको न्यु लाओस नेसनल स्टेडियममा मनिषले खेलको ५२ औँ मिनेटमा गरेको गोलले नेपाललाई विश्वकप फुटबल छनोटको दोस्रो चरणमा पुगाएको हो। पाँच दिनअघि दशरथ रङ्गशालामा भएको पहिलो लेगमा लाओससँग १–१ ले बराबरीमा रोकिएपछि नेपालको दोस्रो चरण प्रवेश कठिन देखिएको थियो। तर नेपाल समग्रमा २–१ गोलको नतिजासहित अगाडि बढ्न सफल भएको छ।

घरेलु टिम लाओसले खेलको पहिलो हाफमा दबाब बनाएपछि नेपाल समस्यामा देखिन्थ्यो। तर मध्यान्तरपछिको खेलमा नेपालले सुधारिएको प्रदर्शन गरेको गोरखापत्र अनलाइनले लेखेको छ। उत्तरार्धको सातौँ मिनेटमा नै अञ्जन विष्टले डिबक्सभित्रबाटै पास दिएको बललाई मनिषले गोलपोस्टमा छिराएर नेपाललाई अगाडि पार्नुभएको थियो। सोही गोलले खेलको छिनोफानो गरेको हो।

गत चैतमा नेपालमा भएको प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा नेपालले लाओसलाई २–१ ले हराउँदा पनि मनिषले निर्णायक गोल गर्नुभएको थियो।