तीन महिनामा सोह्र अर्बभन्दा बढी विदेशी लगानी
2023-10-19 17:13:12cri
Share with:

चालु आर्थिक वर्षको तीन महिनामा साढे १६ अर्ब रुपियाँको प्रत्यक्ष विदेशी लगानी (एफडिआई) प्रतिबद्धता आएको छ। उद्योग विभागको तथ्याङ्क अनुसार साउनदेखि असोजसम्म १५१ परियोजनामार्फत १६ अर्ब ६० करोड ४३ लाख लगानी प्रतिबद्धता आएको हो।

असोज महिनामा मात्र ४० परियोजनामार्फत एक अर्ब ९८ करोड ७३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ। तीन महिनाको अवधिमा १४४ साना, मझौला चार र तीन ठुला उद्योगमा लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ। तीन महिनाको अवधिमा सबैभन्दा धेरै सेवा र पर्यटन क्षेत्रमा बढी लगानी प्रतिबद्धता आएको छ। सूचना प्रविधि, उत्पादनमूलक, ऊर्जा, कृषि तथा खानीजन्य क्षेत्रमा विदेशी लगानी प्रतिबद्धता आउने गरेको छ। अघिल्लो भदौमा मात्र ५१ वटा परियोजनामार्फत दुई अर्ब ७२ करोड २४ लाख रुपियाँ प्रतिबद्धता आएको विभागले जनाएको छ।

गत साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको हो। साउन महिनामा सबैभन्दा धेरै विदेशी लगानी प्रतिबद्धता आएको थियो। भदौ महिनामा उद्योग दर्तासँगै प्रतिबद्धता रकममा कमी आएको हो। असोजसम्म विभागले ७८१ वटा व्यापारिक भिसा सिफारिस गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

नेपालमा सुरुदेखि हालसम्म छ हजार १० परियोजनमार्फत चार खर्ब ६६ अर्ब ५७ करोड ३२ लाख २४ हजार रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता गरे पनि लगानी भने न्यून मात्र भित्रिने गरेको पाइएको छ। नेपालमा प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत रकम मात्र भित्रिने गरेको छ।

मुलुकमा ५० करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) गर्न सक्ने व्यवस्था गरेको छ। सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट ५० करोड रुपियाँसम्म विदेशी लगानी नेपालमा ल्याएर उद्योग व्यवसायमा गर्न सक्ने व्यवस्था गरेको हो। स्वचालित मार्गबाट ५० करोड रुपियाँसम्म लगानी गर्न व्यवस्था गरेपछि नेपालमा लगानी बढ्ने अनुमान गरिएको छ। स्वचालित मार्गबाट विदेशी लगानी गर्ने उद्योगमा ऊर्जामूलक उद्योग, कृषि तथा वन पैदावारमा आधारित उद्योग, पूर्वाधार उद्योग, पर्यटन उद्योग, सूचना प्रविधिमा आधारित उद्योग, सेवामूलक उद्योग र उत्पादनमूलक उद्योग रहेका छन्।