मनसुनजन्य प्राकृतिक विपत् उच्च भए तापनि मानवीय क्षति तुलनात्मक रूपमा कम
2023-10-19 17:22:37cri
Share with:

यो वर्षको मनसुनजन्य प्राकृतिक विपत्मा परेर नेपालमा ९२ जनाको मृत्यु भएको छ। विपत्का घटना उच्च भए पनि विगतका वर्षको तुलनामा मानवीय क्षति भने यो वर्ष कम भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यो वर्षको मनसुन आइतबारदेखि नेपालबाट बाहिरिएको थियो। मनसुन अवधिमा बाढीपहिरो, भीषण वर्षा, चट्याङसहितको विपत्मा परेर १६८ जना घाइते भएका छन्। त्यस्तै अझै ३० जना बेपत्ता छन्। प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काले मनसुनजन्य विपत्मध्ये सबैभन्दा बढी पहिरोमा परेर ४५ जनाको ज्यान गएको बताउनुभयो। उहाँका अनुसार देशभर मनसुन अवधिमा ४५९ वटा पहिरोका घटना भएका छन्। पहिरोमा परेर ५० जना घाइते भएका छन् भने अझै नौ जना बेपत्ता छन्।

बाढीले बगाएर १६ जनाको ज्यान गएको छ। बाढीका कारण सात जना घाइते भए भने २१ जना अझै बेपत्ता छन्। भीषण वर्षाका कारण दुई जनाको मृत्यु र १२ जना घाइते भएका छन्। यस्तै गरी मनसुनी चट्याङले २९ जनाको ज्यान लिएको छ। अन्य ९९ जना घाइते भएका छन्। २०७१ सालदेखि नेपालमा बाढीपहिरोजन्य घटनाको बढोत्तरी हुँदा जनधनको क्षति उच्च रहे पनि २०७७ सालदेखि जनधनको क्षति पहिलेभन्दा कम हुँदै गएको प्राधिकरणले विश्लेषण गरेको छ।

सबैभन्दा बढी २०७४ सालमा बाढीपहिरोजन्य प्राकृतिक विपत्तिले १५० जनाभन्दा बढीको ज्यान लिएको थियो। त्यसपछि क्रमशः कम हुँदै जानुमा औसतभन्दा कम वर्षा हुनु प्रमुख कारण रहेको प्राधिकरणका जलस्रोत विज्ञ राजेन्द्र शर्माले बताउनुभयो। औसत वर्षा भन्नाले ९० देखि ११० मिलिमिटरसम्मको वर्षालाई बुझाउँछ। यो वर्ष करिब ८८ मिलिमिटर हाराहारीमा मात्र वर्षा भएको अनुमान गरिएको छ। वर्षाको अन्तिम विश्लेषण जल तथा मौसम विज्ञान विभागले गरिरहेको छ। मनसुनमा समग्रमा कम वर्षा भए पनि खण्डीकृत रूपमा कुनै स्थानमा धेरै र भीषण वर्षा हुने क्रम भने बढेको छ। जसले गर्दा केही भेगमा क्षतिको दायरा बढेको छ।

खड्काका अनुसार यस वर्ष गत जेठ ३१ गते नेपालमा भित्रिएको मनसुन १२४ दिन रहेर असोज २८ गते सरदर मितिभन्दा १३ दिनपछि पूर्ण रूपमा बाहिरिएको छ। मनसुन प्रवेश गरेकै दिनदेखि सुरु भएको निरन्तरको वर्षाले पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा ठुलो मानवीय तथा भौतिक क्षति भयो।

प्रधानमन्त्री एवं विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मनसुनजन्य घटनाबाट मानवीय क्षति हुन पुगेका र घरबारविहीन परिवारलाई राहत वितरण गर्न र निजी आवास पुनर्निर्माणमा सहयोग गर्न निर्देशन दिनु भएअनुसार विपत् पीडितलाई अस्थायी आवाससँगै सरकारका तर्फबाट राहत प्रदान गरिएको प्राधिकरणले जनाएको छ।

मनसुन अवधिमा पहिरोका ४५९, भीषण वर्षाका १६८, बाढीका १४२ र चट्याङका १२३ घटना गरी कुल ८९२ घटना भए। मनसुनले कुल छ हजार १३० परिवार प्रत्यक्ष प्रभावित भएका छन् भने २४३ निजी घरमा पूर्ण र ७२० वटा घरमा आंशिक क्षति पुगेको छ। निजी आवासतर्फ करिब ३३ करोड रुपियाँ बराबरको क्षति भएको अनुमान छ।

मनसुनजन्य विपत्ले देशका विभिन्न स्थानमा भौतिक क्षति बढाएको छ। देशका विभिन्न भेगमा १५ वटा पक्की पुल भत्किँदा एक अर्ब २० करोड रुपियाँको क्षति भएको छ। त्यसै गरी २७ वटा झोलुङ्गे पुल भत्किँदा १२ करोड, सडक, कोरिडोर तथा राजमार्ग बगाउँदा २८ करोड रुपियाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणले औँल्याएको गोरखापत्र अनलाइनले लेखेको छ।

त्यस्तै खानेपानी संरचनामा करिब आठ करोड रुपियाँको क्षति हुनुका साथै कृषितर्फ ३२१ पशुचौपाया र एक हजार २३९ रोपनी खेतीयोग्य जमिन नष्ट भएको छ । सिँचाइतर्फ तीन करोड ५० लाख रुपियाँको क्षति भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) का अनुसार सञ्चालनमा आइसकेका १३, निर्माणाधीन १७ र लघु २७ गरी ५७ वटा जलविद्युत्मा केन्द्रमा क्षति पुग्दा करिब नौ अर्ब रुपियाँ बराबरको क्षति पुगेको तथ्य सार्वजनिक गरिएको छ।

मनसुन अवधिमा बझाङलाई केन्द्रबिन्दु बनाएर गएको यो वर्षको हालसम्मकै ठुलो ६.३ म्याग्निच्युडको भूकम्पमा परी एकको मृत्यु ३० जना घाइते र तीन हजार १४८ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। सो क्षेत्रका १९ हजार २२४ घरमा आंशिक क्षति पुगेको प्रारम्भिक अनुमान छ। त्यसै गरी १२४ सार्वजनिक भवन पूर्ण र २०५ मा आंशिक क्षति पुगेको छ।