दसैँसँगै बढे पर्यटक
2023-10-20 17:03:52cri
Share with:

पछिल्ला दिनमा पर्यटकीय क्षेत्र सौराहासँगै भरतपुरका पर्यटकीय होटलमा पर्यटकको चहलपहल निकै बढेको छ। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीका अनुसार कात्तिक लागेसँगै पर्यटकको चहलपहल निकै बढेको हो। दसैँको पूर्णिमासम्म २० हजारभन्दा बढी पर्यटकले बुकिङ गरिसकेका छन्। यो क्रमशः बढ्दै गएको उहाँले बताउनुभयो।

अहिले बुकिङ भएका पर्यटक ३० देखि ३५ प्रतिशत युरोपियन, २० देखि २५ प्रतिशत चिनियाँ, १५ प्रतिशत हाराहारी भारतीय र अन्य आन्तरिक छन्। दसैँभर सौराहाका होटल ८५ देखि ९० प्रतिशत बुकिङ हुने उहाँको अनुमान छ। उहाँले भन्नुभयो, “ढिलो गरी पर्यटकको आगमन आशा लाग्दो गरी बढेको छ।” सौराहामा एक सय ३६ वटा होटलमा छ हजार दुई सय बेड छ।

संघका पूर्वअध्यक्ष सुमन घिमिरेले आन्तरिक र विदेशी पर्यटकको आगमन निकै राम्रो रहेको बताउनुभयो। “दसैँ, तिहार वरिपरि राम्रो हुने संकेत देखिएको छ।”घिमिरेले भन्नुभयो, “यस वर्ष ढिलो गरी पर्यटकीय याम सुरु भएको छ, पर्यटकको आशा लाग्दो उपस्थिति छ।”

ढिलो चाडपर्व सुरु हुँदा पर्यटकीय याम पनि ढिलो गरी सुरु भएको छ। विगतका वर्षमा असोजबाट पर्यटकको चहलपहल बढ्ने यहाँ यस वर्ष कात्तिक लागेपछि मात्रै बढेको राससले जनाएको छ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन सौराहाका पूर्वअध्यक्ष दीपेन्द्र खतिवडा होटलमा बस्ने र घुमेर फर्किने पर्यटकका कारण रेष्टुरेन्टमा चहलपहल बढेको बताउनुहुन्छ। सौराहामा चितवन राष्ट्रिय निकुञ्ज प्रवेशसमेत खुलेको छ। यसले पनि पर्यटकको सङ्ख्या बढेको अनुमान छ।

यसै गरी, भरतपुरको पटिहानीमा गत सातादेखि नै पर्यटकको चहलपहल बढेको छ। होटल जङ्गल भिल्ला पटिहानीका सञ्चालक गणेश पौडेलका अनुसार दसैँको समयमा ८० देखि ९० प्रतिशत बुकिङ हुने देखिएको छ। गत साता ९० प्रतिशत बुकिङ थियो। अहिले ६० प्रतिशतभन्दा माथि बुकिङ्ग रहेको उहाँले बताउनुभयो।

पटिहानीमा सात वटा पर्यटकीय होटल छन्। यस्तै पर्यटकीय क्षेत्र मेघौलीमा पनि पर्यटकको सङ्ख्या उल्लेख्य रहेको व्यवसायी बताउँछन्। मेघौलीमा तीन वटा ठूला पर्यटकीय होटल, केही साना होटल र घरबास (होमस्टे) पनि रहेका छन्। मैघौलीमा रहेको साराङ वाइल्ड लाइफ सेन्चुरीका सञ्चालक सुवोध प्रधानले यस क्षेत्रमा पनि पर्यटकको चहल-पहल बढेको बताउनुभयो। पछिल्ला दिनमा पर्यटकको आगमन र बुकिङ बढ्दै गएको छ। चितवन राष्ट्रिय निकुञ्ज प्रवेशका लागि सौराहा, पटिहानी, मेघौली, जगतपुरलगायत निकुञ्ज आसपासका पर्यटकीय होटलमा पर्यटक आउने गर्दछन्। निकुञ्जमा दुर्लभ वन्यजन्तु अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटक आउँछन्।