शान्ति मिसनमा महिला सैनिकतर्फ उच्च योगदान दिने नेपाल विश्वमै एक
2023-10-20 17:02:58cri
Share with:

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना टोलीमार्फत देशको छवि उँचो बनाउँदै विश्वव्यापी मानव अधिकारका लागि नेपाली शान्ति सैनिकको योगदान उच्च बन्दै गएको गोरखापत्र अनलाइनले लेखेको छ।

शान्ति स्थापनामा नेपाली सैनिक विश्वमा लोकप्रिय बन्दै गएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताउनुभएको छ। उहाँले विश्वशान्ति स्थापनामा नेपाल महत्वपूर्ण साझेदार रहेको र यो साझेदारी युगौँसम्म कायम रहने संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकमा नै उहाँले प्रस्ट पार्नुभएको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि संयुक्त राष्ट्रसङ्घ दिवस मनाउँदै नेपालको परराष्ट्र नीतिको मार्गदर्शनका सिद्धान्तमा शान्ति र मानव अधिकार रहेको प्रस्ट्याउनुभएको छ।

विश्वशान्ति र मानव अधिकार संरक्षणमा सैनिक योगदानकर्ताका रूपमा नेपाल दोस्रो स्थानमा छ। नेपालबाट नेपाली सेनातर्फ छ हजार ६४, नेपाल प्रहरीबाट ४४ र सशस्त्र प्रहरी बलका १९४ जना गरी कुल छ हजार २९९ जना शान्ति सैनिक विभिन्न मुलुकमा खटिएका छन्।

सङ्घले प्रकाशित गरेको सूची अनुसार विश्वका १२५ मुलुकले शान्ति मिसनमा सैनिक पठाएका छन्। उच्च १० मुलुकमा बङ्गलादेश, नेपाल, भारत, रुवान्डा, पाकिस्तान, घाना, इन्डोनेसिया, सेनेगल, चीन र इजिप्ट छन्।

शान्ति मिसनमा महिला सैनिकतर्फ उच्च योगदान दिने नेपाल विश्वमै एक नम्बरमा रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। नेपालले विश्वकै सबैभन्दा धेरै ६१२ जना शान्ति सैनिकमा पठाएको छ। पहिलो नम्बरमा रहेको बङ्गलादेशले ५६६ र तेस्रोमा रहेको छिमेकी मुलुक भारतको १२५ जना महिला शान्ति सैनिक रहेका छन्।

दोस्रो विश्वयुद्धपछिको विश्वको जर्जर अवस्था सुधार्न शान्ति सैनिकको अवधारणा आएको हो। उति बेला युद्धरत क्षेत्रमा आफ्नो देशको सेना पठाउनु भनेको मृत्युको मुखमा पठाउनु हो भन्ने मान्यता राखिन्थ्यो तर नेपालले भने हरेक द्वन्द्वग्रस्त क्षेत्रमा नेपालको अब्बल कार्यसम्पदान गरेका कारण शान्ति मिसनको पहिलो खोजी नेपाली सैनिकको हुने गरेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारी बताउनुहुन्छ।

मानव अधिकारको प्रवर्धनमा सघाउँदै नेपाल सरकारले अब १० हजार शान्ति सैनिक पठाउने तयारी गरेको छ। उहाँले भन्नुभयो, “नेपाली सैनिकको माग उच्च छ, जतिखेर पनि फेरि माग हुने भएकाले हामी थप सैनिक पठाउन सक्ने गरी तयारी अवस्थामा छौँ।”

संयुक्त राष्ट्रसङ्घको मिसन र नेपालको सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्न योगदान पुर्याउनुभएका तत्कालीन ब्रिगेडियर जनरल बालानन्द शर्मा शान्ति मिसनमा नेपाली सैनिकलाई सबैले मन पराउने बताउनुहुन्छ। उहाँको अनुभवमा त्यहाँ पुगेपछि आदेश मान्ने मात्र नभई एक मानिसले अर्को मानिसलाई गर्नुपर्ने व्यवहारमा नेपाली सैनिक पोख्त छन्।