द्रुत मार्गमा पुल निर्माण हुँदै
2023-10-22 16:24:21cri
Share with:

तराई/मधेश द्रुत मार्ग सडक आयोजना अन्तर्गत पक्की पुल निर्माणलाई तीव्रता दिइएको छ। यो आयोजना अन्तर्गत प्याकेज नं. १ देखि ७ सम्मका ६२ स्थानमा पुल निर्माण भइरहेका छन्। आयोजनाको गत साउन ३० गते स्वीकृत विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बमोजिम द्रुत मार्ग सडक आयोजनाको रेखाङ्कनमा जम्मा ८९ स्थानमा पुल निर्माण हुने आयोजनाले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ।

आयोजना अन्तर्गत हाल निर्माणाधीन पुलमध्ये प्याकेज नं. १ देखि ५ मा पर्ने पुल अन्तर्गत जमिनमुनि बनाउनुपर्ने एक हजार ७६८ वटा जगको पिल्लर (फाउन्डेसन पाइल) मध्ये एक हजार ९६ वटा निर्माण कार्य सम्पन्न भएको र पुलको जमिनमाथिको पिल्लरलगायत संरचनाको काम भइरहेको छ। तीन वटा पुलको स्ल्याबलगायतका संरचना निर्माणको कार्यसमेत सम्पन्न भइसकेको छ।

नेपाली सेनाका सहायक रथी सूचना अधिकारी कृष्णप्रसाद भण्डारीका अनुसार बाँकी २३ वटा पुल निर्माण खरिद प्रक्रियामा रहेको छ। उहाँले खोकना खण्डको प्याकेज नं. ११ अन्तर्गतका चार वटा पुलको खरिद प्रक्रिया बाँकी रहेको जानकारी दिनुभयो।

आयोजना अन्तर्गत हाल विभिन्न प्रकृतिका गरी १५ मिटरदेखि ४०४ मिटर लम्बाइका पुल निर्माण हुने भएको छ। साथै द्रुत मार्ग खण्डमा ११.८ मिटर चौडाइका जोडी पुल चार लेनको र विभाजित खण्डमा १३.३ मिटरको पुल दोहोरो लेनको रहेका छन्। उहाँले आयोजना अन्तर्गत निर्माण व्यवसायीसँगको सम्झौताबमोजिम हाल निर्माणाधीन पुलहरूको मूल्य अभिवृद्धि करबाहेक कुल लागत ३८ अर्ब ६१ करोड रुपियाँ रहेको बताउँदै अन्य पुल खरिद प्रक्रियामा रहेको बताउनुभयो।

हालसम्म स्वीकृत विस्तृत आयोजना प्रतिवेदन अनुसार बन्ने पुलको कुल लम्बाइ १६.८ किमी हुने छ। आयोजना अन्तर्गत प्याकेज नं. १ महादेवटारबाट धेद्रेसम्म, प्याकेज नं. २ धेद्रेबाट लेनडाँडासम्म, प्याकेज नं. ७ लेनडाँडाबाट बुदुनेसम्म, प्याकेज नं. ३ राजदमारबाट अँधेरीसम्म, प्याकेज नं. ४ अँधेरीबाट बागदेवसम्म र प्याकेज नं. ५ बागदेवबाट निजगढसम्म हुने गरी डिजाइन गरिएको छ।