नेपालीहरूको सबैभन्दा ठूलो चाडपर्वमा चीन र भारतीय स्याउको भर
2023-10-23 17:08:49cri
Share with:

दसैंलाई लक्षित गर्दै नेपाल भित्रिएका विदेशी स्याउ बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन्। भारत र चिनियाँ स्याउले नेपाली बजार भरिएका छन् । गत वर्ष झैँ यस बर्ष पनि दसैं र तिहारलाई लक्षित गर्दै व्यवसायीले चीन,भारत र न्युजिल्याण्डबाट स्याउ बजारमा भित्र्याइसकेका छन् । कालिमाटी फलफुल तथा तरकारी विकास समितिका अनुसार दैनिक ४ देखि ५ सय केजीको हाराहारीमा स्याउ खपत हुने गरेको छ ।

 

समितिका अनुसार कार्तिकमा मात्रै विकास समितिको पसलहरुबाट ४ सय केजी स्याउ बिक्री भएको हो । समितिका सूचना अधिकारी विनय श्रेष्ठ दसैंलाई लक्षित गरेर दैनिक ५ सय केजीको हाराहारीमा स्याउ आएको बताउनुहुन्छ।दसैं र तिहारलाई लक्षित गरेर अरु समयमा भन्दा धेरै फलफूलहरु झारिरहेका छौँ,’ श्रेष्ठले भन्नुभयो। केरा,स्याउ सबैभन्दा बढी बिक्री हुने हुँदा अन्य समयको भन्दा बढी ल्याइएको उहाँको भनाइ छ।

 

भन्सार विभागको तथ्यांकअनुसार दसैं नलाग्दै नेपालमा दुई महिनामै १ अर्ब ४२ करोड रुपैयाँ मूल्य बराबरको स्याउ आयात भइसकेको छ। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिनामा मात्रै चीनबाट १ अर्ब २ करोड, भारतबाट ३९ करोड र न्युजिल्याण्डबाट ४४ लाख रुपैयाँ मूल्य बराबरको स्याउ आयात भएको क्लिकमाण्डु अनलाइनले जनाएको छ।

 

विभागले असोज महिनाको तथ्यांक सार्वजनिक गरिसकेको छैन तर्सथ दसैंलाई मात्रै लक्षित गरेर कति भित्रिए भन्ने तथ्यांक नभएपनि गएको दुई महिनामा भित्रिएको स्याउको लागतले नेपाली बजारमा विदेशी स्याउको माग बढ्दै गएको प्रष्ट पार्छ।

गत आर्थिक बर्षमा साउन र भदौमा भारत र चीनबाट मात्रै स्याउ आउने गरेकोमा यस बर्षको सोहि अवधिमा न्युजिल्याण्डबाट पनि स्याउ आयात गरिएको छ।

तीनकुनेस्थित तरकारी बजारका व्यवसायी मनोज पाण्डे नेपाली स्याउले बजारको १० प्रतिशत पनि हिस्सा नओगट्ने बताउनुहुन्छ।

 

त्यसो त अहिले स्याउको उत्पादन हुने मौसम पनि होइन। बेमौसमी स्याउहरु हरेक वर्ष विदेशबाटै आयात गरिँदै आएको छ र यो क्रम हरेक बर्ष बढ्दो छ। गत आर्थिक बर्षको साउन र भदौमा भारत र चीनबाट मात्रै १ अर्ब ४० करोड मूल्य बराबरको स्याउ आयात भएको मा यस वर्ष सोही अवधिमा आयातको लागत २ करोड रुपैयाँ बढी छ।

 

बल्खु फलफूल बजारका होलसेल व्यवसायी बिनोद पाण्डे दशैका लागि चिनिया स्याउ भित्रिसकेको बताउँछन्। उहाँले गत वर्षभन्दा यस वर्ष चिनियाँ स्याउ बजारमा भित्रिएको बताउनुभयो। दसैंमा अरु फलफुल भन्दा बढी स्याउ र केरा नै बिक्री हुन्छ हामीले चिनियाँ र भारतीय गरि दुई प्रकारका स्याउ बिक्री गर्दै आएका छौँ ।

 

समितिका अनुसार बजारमा हाल फुजी स्याउ प्रति केजी ३ सय २० देखि ३ सय ५० रुपैयाँसम्ममा बिक्री वितरण हुँदै आएको छ भने अन्य प्रति केजी २ सय ८० देखि ३ सय रुपैयाँसम्मा बिक्री हुँदै आएको छ ।