भोलिदेखि नेपाल एयरलाइन्सले नेपालगन्जबाट हिमाली जिल्लामा दैनिक उडान गर्ने
2023-10-23 17:18:45cri
Share with:

नेपाल एयरलाइन्सले दसैँमा यात्रुको चापलाई ध्यानमा राखेर नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा दैनिक उडान गर्ने भएको छ। नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मानबहादुर चौधरीले मङ्गलबारदेखि केही दिनसम्म हिमाली जिल्लामा दैनिक उडान गर्ने तालिका बनाइएको जानकारी दिनुभयो। उहाँले दसैँमा नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा जाने यात्रुहरू तथा त्यहाँबाट नेपालगन्जलगायतका स्थानमा फर्किनेहरूका लागि दैनिक उडानको योजना बनाएका छौं।

 

कार्यालय प्रमुख चौधरीका अनुसार नेपालगन्जबाट कर्णालीका हुम्ला र मुगुमा मङ्गलबारदेखि शनिबारसम्म पाँच दिन नियमित उडान गरिनेछ। त्यसैगरी नेपाल एयरलाइन्सले नेपालगन्जदेखि नै डोल्पा, जुम्ला र बाजुरामा मङ्गलबारदेखि शुक्रबारसम्म चार दिन नियमित उडान गर्नेछ। नेपालीहरूको महान पर्व दसैँ, तिहारमा दुर्गमका जिल्लामा जान यात्रुहरूले दुःख पाउने भएकाले उनीहरूको सहजताका लागि केही दिन हिमाली जिल्लामा नियमित उडान गरिने भएको गोरखापत्र अनलाइनले जनाएको छ।

 

संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयले यात्रुहरूको सहजताका लागि उडान थप्न निर्देशन दिएपछि थप उडान राखिएको कार्यालय प्रमुख चौधरीले जानकारी दिनुभयो।

नेपाल एयरलाइन्सको हवाइ टिकट अनलाइन र सम्बन्धित कार्यालयमा पुगेर यात्रुहरूले लिनसक्ने व्यवस्था मिलाइएको नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ।

हिमाली जिल्लामा जान यात्रुहरूको चाप बढेपछि दैनिक नियमित उडान राखिएको जनाइएको छ। यी हिमाली जिल्लाहरूमा सडक यातायात भरपर्दो नहुँदा हवाइ यातायात नै आवत जावतको मुख्य विकल्पको रूपमा छ।

 

यसअघि नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिमका जिल्लामा हप्तामा कतै एक र कतै दुई दिन उडान गर्दै आएको थियो। तर अहिले दसैँलाई मध्यनजर गर्दै एयरलाइन्सले उडान थप्दै सबै हिमाली विमानस्थलमा दैनिक उडानको तालिका राखेको छ।

 

निजी एयरलाइन्सहरूले समेत नेपालगन्जबाट यी सेक्टरमा उडान गरे पनि पप्र्यात मात्रामा जहाज नहुँदा तराईबाट घर फर्किने र हिमाली जिल्लाबाट चाडवाड मनाउन घर फर्किने कर्मचारीहरूले सास्ती भोग्दै आएका छन्।

 

यसैबीच दसैँ नजिकिँदै गर्दा सिमकोटबाट नेपालगन्ज आउने यात्रुलाई हवाई टिकट पाउन समस्या भएको छ। नियमित रूपमा उडान नहुनु, टिकट महँगो हुनुलगायत कारणले यात्रुलाई टिकट पाउन समस्या भएको हो। हुम्लाको सिमकोट जानका लागि टिकट खोजिरहनुभएका सिमिकोटका जीवन परियारले हुम्ला जाने टिकट नपाएर यहीँ बस्नुपरेको बताउनुभयो। उहाँले ११ दिनदेखि टिकटको खोजी गरिरहेपनि अझैसम्म पाउन नसकेको गुनासो गर्नुभयो।