१६ अर्ब ६० करोड लगानी प्रतिबद्धता
2023-10-23 17:10:46cri
Share with:

चालु वर्षको असोजमा मात्रै ४० नयाँ उद्योगमा १ अर्ब ९८ करोड ७३ हजार विदेशी लगानी प्रतिबद्धता आएको छ। असोजमै पुराना उद्योग सेयर पर्चेज एग्रिमेन्ट (एसपीए) र सेयर सब्स्क्रिप्सन एग्रिमेन्ट (एसएसए) मा ४६ करोड ८८ लाख प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांक छ

 

चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा कुल १५१ वटा नयाँ उद्योगमा १६ अर्ब ६० करोड ४३ लाख विदेशी लगानी प्रतिबद्धता आएको हो। पुराना उद्योगमा ३ अर्ब ६७ करोड विदेशी लगानी प्रतिबद्धता गरेको हो। नयाँ र पुरानो गरी कुल १७० वटा उद्योगमा २० अर्ब २७ करोड ५२ लाख विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ

 

तर साउन र भदौमा २ अर्ब ९९ करोड ८१ लाख भित्रिएको राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ। विभागका अनुसार तीन महिनामा साना उद्योग १४४, मझौला ४ र ठूला उद्योग ३ वटा दर्ता भएको छ। सबैभन्दा बढी लगानी पर्यटन क्षेत्रमा ७१.४७, सेवामा ५७.३८, पूर्वाधारमा ४.२, सूचना तथा प्रविधिमा ५.३, उत्पादनमा १२.८, खनिजमा १.१ प्रतिशत रहेको विभागले जनाएको छ

 

 

नयाँ उद्योगमा २ अर्ब लगानी प्रतिबद्धता आउँदा सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) मा ४६ करोड ८८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। असोजमा नयाँ र पुराना उद्योग गरी २ अर्ब ४४ करोड ८८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको कान्तिपुर अनलाइनले जनाएको छ।

 

मुलुकमा हालसम्म ५७ देशबाट ६ हजार १० उद्योगमा ४ खर्ब ६६ अर्ब ५७ करोड ३२ लाख प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ। चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज) मा ६३ करोड ६४ लाख रुपैयाँ, ४ लाख ८२ हजार अमेरिकी डलर र १२ करोड ७५ लाख ९६ हजार भारतीय मुद्रा रोयल्टीबापत बाहिर लैजान प्रस्ताव गरिएको छ। यस्तै २६ करोड २१ लाख रुपैयाँ लाभांश लैजान प्रस्ताव गरिएको विभागको तथ्यांक छ। राष्ट्र बैंकको तथ्यांकअनुसार साउन र भदौमा रोयल्टी र लाभांश बाहिरिएको छैन

 

०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात २ खर्ब ६४ अर्ब ३३ करोड कायम रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। ०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी भित्रिने गरेको विदेशी लगानीसम्बन्धी राष्ट्र बैंकको पछिल्लो अध्ययन प्रतिवेदनमा जनाइएको छ

 

नेपालमा सबैभन्दा बढी भारतबाट ८८ अर्ब ५९ करोड, चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा देखिन्छ  । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३२.८ र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी छ। यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा छ

 

प्रायः वर्षमा भित्रिने वैदेशिक लगानीको तुलनामा सोही अवधिमा नेपालबाट बाहिरिने लाभांशबापतको रकम धेरै रहँदै आएको थियो