दुग्ध पदार्थ बिक्रीका लागि बंगलादेश, श्रीलंका र तिब्बती बजारको खोजी
2023-10-24 16:14:42cri
Share with:

उच्च उत्पादन र बजारमा कमजोर खपतका कारण दुग्ध पदार्थको बिक्री चक्र बिथोलिन थालेपछि सरकारले अन्तर्राष्ट्रिय बजारको खोजी थालेको छ। भारत, बंगलादेश, श्रीलंका र चीनको स्वशाशित क्षेत्र तिब्बतका निजी क्षेत्रसँग छलफल थालिएको दुग्ध विकास संस्थान (डीडीसी) का अधिकारीहरु बताउँछन् ।

 

भारतको पटना डेरी, बंगलादेश, श्रीलंका र तिब्बतका दुग्ध व्यवसायीहरुसँग दुग्ध पदार्थ बिक्रीको प्रस्ताव गरिएको डीडीसीका महाप्रबन्धक सञ्जीव झाले बताउनुभयो। बजार, किसान र संस्थानको व्यापार चक्र बिग्रिन नदिन दुग्धजन्य वस्तुको बाह्य बजार खोजी भइरहेको छ,’ झाले भन्नुभयो, ‘हामीले केही मुलुकका निजी क्षेत्रसँग सिधा सम्पर्क गरेर प्रस्ताव पठाएका छौं। कूटनीतिक च्यानलबाट पनि बजारको सुनिश्चितताका लागि मन्त्रालय र सरकारको पनि ध्यानाकर्षण गराएका छौं ।

 

संस्थानका अनुसार अहिले नेपालबाट एसएमजी, बटर, घिउ र चिजजन्य वस्तु निर्यात गर्न सकिन्छ । अहिले नै डीडीसीले उत्पादन गरेको घिउ जापान, अमेरिका र यूरोपका बजारमा निर्यात पनि भइरहेको छ । जापानमा मात्र मासिक ५ हजार किलो घिउ निर्यात हुने गरेको डीडीसीका अधिकारीहरु बताउँछन्। तर नेपाली बजारमा डीडीसीका दुग्ध पदार्थको खपत १५ प्रतिशतसम्म माग घटेको छ। काठमाडौं उपत्यकामा ९ प्रतिशत र बाहिर १४ प्रतिशतले घटेको छ ।

 

अनलाइनखबरका अनुसार दैनिक ४५ देखि ५० हजार लिटर दूध कन्भर्जन गरेर पाउडर र मख्खन बनाउनु परेको छ, जसले ६० करोडभन्दा बढी पुँजी होल्ड भएको संस्थानले जनाएको छ।