निर्यात सुरुवातको तीन वर्षमा ५ मुलुकमा पुग्यो नेपाली घिउ
2023-10-26 16:13:56cri
Share with:

आर्थिक वर्ष २०७७/७८ सालमा नेपालले जापानमा ४७ लाख ४ हजार २२ रुपैयाँको नेपाली घिउ निर्यात गर्यो। नेपाल दूग्ध विकास संस्थानले उत्पादन गरेको घिउ एक निजी कम्पनीले खरिद गरेर जापानमा निर्यात सुरु गरेको थियो ।

नेपालबाट पहिलो पटक सरकारी संस्थानमा उत्पादन भएको घिउ जापान निर्यात सुरु भएपछि यसले नेपाली घिउ निर्यातमा नेपालको सम्भावनालाई उजागर गर्यो । यही सम्भावनालाई टेकेर निजी क्षेत्रबाट घिउको निर्यात पहल थप बिस्तार हुँदा निर्यात सुरुआतको ३ वर्षमै नेपाली घिउ ५ वटा मुलुकमा निर्यात भएको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत ३ आर्थिक वर्षमा नेपालले ४ करोड २६ लाख ७६ हजार ७४ रुपैयाँको घिउ निर्यात गरेको छ ।

आर्थिक वर्ष ०७७/७८ मा नेपालले जापानमा ४७ लाख ४ हजार २२ रुपैयाँको घिउ बिक्री गरेको केन्द्रको तथ्याङ्क छ । यस्तै, आर्थिक वर्ष ०७८/७९ मा एक करोड ९३ लाख ५२ हजार १०६ रुपैयाँको घिउ जापान, क्यानडा, भारत र हङकङमा निर्यात भएको छ । जसमा एक करोड ८७ लाख रुपैयाँको घिउ जापान मात्र निर्यात भएको थियो । क्यानाडामा सो वर्ष १ लाख ९० हजार रुपैयाँको घिउ निर्यात भयो भने भारतमा ३ लाख ९१ हजार रुपैयाँ र हङकङमा ६६५ रुपैयाँको घिउ निर्यात भएको थियो ।

यस्तै, गत आर्थिक वर्ष एक करोड ८६ लाख १९ हजार ९४६ रुपैयाँको १६ हजार ६७० किलो घिउ जापान र अष्ट्रेलिया निर्यात भएको छ । वर्षभरी जापानमा एक करोड ६० लाख ४८ हजार ६७२ रुपैयाँको घिउ निर्यात हुँदा अष्ट्रेलियामा नेपालबाट २५ लाख ७१ हजार २७४ रुपैयाँको घिउ निर्यात भएको केन्द्रले जनाएको छ ।

नेपालबाट निर्यात हुने घिउको उत्पादन कम्पनी नेपाल दुग्ध विकास संस्थान (डीडीसी)का अनुसार अहिले मासिक ५ हजार लिटर घिउ नेपालबाट निर्यात भइरहेको छ। चालु आर्थिक वर्षको भदौसम्म नेपालले ५९ लाख ३२ हजार रुपैयाँ बराबरको ६ हजार ६१६ किलो घिउ निर्यात गरेको अनलाइनखबरले लेखेको छ।