नारायणी नदीमा मोटरबोट सञ्चालन
2023-10-27 16:25:15cri
Share with:

नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन्। बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन भएका हुन्। नारायणी मोटरबोट व्यवसायी संघका अध्यक्ष अशेष मल्लका अनुसार असार, साउन र भदौ महिनामा नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ।

यस वर्ष असोज महिनामा पनि नदीमा पानीको बहाव नघटेकाले अन्तिम सातादेखि दसैँको अवसर पारेर मोटरबोट सञ्चालन गरिएको हो । पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरञ्जन लिने आन्तरिक पर्यटकको भीड नै लाग्न थालेको छ । यस वर्ष मनसुनका कारण नदीमा असोज अन्तिम सातासम्म बाढी आएकाले मोटरबोट सञ्चालनमा ढिलाइ भएको र अब जेठसम्म नियमित मोटरबोट सञ्चालन हुने उहाँको भनाइ थियो।

बिदाका दिन मोटरबोट चढ्न आउनेको संख्या उल्लेख्य हुने गरेको छ । विसं २०७६ मा एउटा बाट सुरु भएको मोटरबोट अहिले सानाठूला गरी ३२ वटा दर्ता भएर सञ्चालनमा आएका छन् । यस वर्ष १९ वटा मोटरबोटले सेवा सुरु गरिसकेकामा चौध वटा कम्पनी भरतपुर महानगरपालिकामा दर्ता छन् ।

मोटरबोट कम्पनीले विभिन्न प्याकेजमा सेवा दिइरहेका छन् । नारायणी नदीको पुलदेखि मजुवा टापु पोखरा बसपार्कसम्मको दूरी, मजुवा टापु पोखरा बसपार्कदेखि गैँडाकोटको राधाकृष्ण मन्दिरसम्मको दूरी, मजुवा टापुदेखि पारिजात पार्क र नारायणी पुलदेखि देवघाटसम्मको दूरीमा मोटरबोट सञ्चालन हुने गरेका कारोबार अनलाइनमा खबर छ।

एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् । यस्तै साना मोटरबोटमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ।

छोटो दूरीमा प्रतिव्यक्ति रु दुई सय ५० र लामो दूरीमा प्रतिव्यक्ति रु एक हजार पाँच सयसम्म तोकिएको छ। त्यहाँबाट उठेको रकमको १५ प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ।