कृषि र पशुपालनमा आत्मनिर्भर बन्न घोषणापत्र जारी
2023-10-27 16:25:59cri
Share with:

गुल्मीका स्थानीय तहले कृषि र पशुपालनमा आत्मनिर्भर बन्न घोषणापत्र जारी गरेका छन्। समृद्ध किसान आत्मनिर्भर गुल्मी भन्ने नारासाथ यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ वटै स्थानीय तहले संयुक्त रुपमा दश बुँदे घोषणापत्र जारी गरेका हुन्।

 

कृषि र पशुपालन क्षेत्रको विकास र विस्तारका लागि कृषि र पशुपालन क्षेत्रमा गरेका कामको अनुभव आदानप्रदानसहित नयाँ कार्यमा सहकार्य गर्ने उद्देश्यका साथ दश बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । स्थानीय तहले कृषि र पशुपालन क्षेत्रमा संगै हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

 

सो घोषणापत्रमा परिमाणात्मक उत्पादनमा जोड दिने, अन्तरपालिका स्तरीय बजार सञ्जालमा जोड दिने, रैथाने बाली संरक्षण गर्ने, नश्ल सुधार तथा कृषि प्रविधि विस्तारमा जोड दिने, सामुहिक कृषि तथा पशुजन्य स्रोत केन्द्रको स्थापना गर्ने, युवामैत्री कृषि कार्यक्रम सञ्चालन गर्ने, सहकार्यमा कृषीजन्य सामग्री उत्पादन देखि भण्डारण गर्ने, बाँदर बँदेल नियन्त्रणको लागि पहल गर्ने, युवा उद्यमी तयार पार्नेलगायतका विषयमा स्थानीय तहवीच सम्झौता भएको छ।

 

गोरखापत्र अनलाइनका अनुसार कृषि तथा पशुपालन क्षेत्रको विकास तथा विस्तारका लागि स्थानीय तहले देखाएको सक्रियताप्रति किसान पनि खुसी भएका छन् । जिल्लाको सत्यवती गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका कृषि तथा पशुपालनसम्बन्धि असल अभ्यास गोष्ठीमा प्रदेश सांसद, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।