परराष्ट्रमन्त्री साउद आइतबार अमेरिका जाँदै, अमेरिकी समकक्षी ब्लिन्केनसँग भेट हुने
2023-10-28 17:24:58cri
Share with:

परराष्ट्रमन्त्री एनपी साउदको अमेरिका भ्रमणतालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री साउदले कात्तिक १२ देखि १९ सम्म अमेरिकाको औपचारिक रूपमा भ्रमण गर्न लागेको जानकारी दिएको हो । अमेरिकाको विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालय दुवैले करिब एक महिनाभन्दा बढी समन्वय गरेपछि परराष्ट्रमन्त्री साउदको भ्रमणको औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

मन्त्री साउदलाई सोमबार वासिङ्टन डीसीमा स्वागत गरेलगत्तै सोही दिन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता हुनेछ । परराष्ट्रमन्त्री साउद संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई आइतबार स्वागत गरेर द्विपक्षीय भेटवार्ता गरेपछि बेलुकी अमेरिका जाने हुनुभएको हो।

मन्त्री साउद सन् २०१८ पछि अमेरिका भ्रमण गर्ने नेपालका उच्च पदाधिकारी हुने कान्तिपुर अनलाइन लेख्दछ। सन् २०१८ डिसेम्बर १८ देखि २१ मा केपी ओली नेतृत्वका सरकारका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको भ्रमण गर्नुभएको थियो।

परराष्ट्रमन्त्री साउदले अमेरिका भ्रमणका दौरान अमेरिकी सहयोग नियोग यूएसएआईडीकी प्रमुख प्रशासक सामान्था पावर, अमेरिकी सहयोग संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी. अलब्राइट र अमेरिकी सरकारका अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै, परराष्ट्रमन्त्री साउदले अमेरिकी सांसद तथा नेपाल ककसका सहअध्यक्ष माइक केरीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।

त्यसबाहेक परराष्ट्रमन्त्री साउदले अमेरिकी इन्स्टिच्युट अफ पिसमा सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै, नेपाली–अमेरिकी व्यापारिक समुदाय, प्राविधिकसम्बन्धी एडभाइजरी नेटवर्क र एनआरएनएका प्रतिनिधिहरूसँग कुराकानी गर्ने कार्यक्रम रहेको छ ।

विदेशमन्त्री ब्लिन्केनसँग परराष्ट्रमन्त्री साउदले दुई मुलुकबीचको सहकार्य र सहयोगको विषयमा कुराकानी गर्ने कार्यक्रम रहेको परराष्ट्र स्रोतले बतायो। साथै, (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत अलब्राइट नेपालमा कार्यान्वयनमा गएको अमेरिकी ५०० मिलियन डलर अनुदानको एमसीसी परियोजनाको विषयमा कुराकानी हुनेछ। अलब्राइटले एक महिनाअघि मात्र नेपालको भ्रमण गर्नुभएको थियो।

 यसै वर्ष नेपालको भ्रमण गरेकी यूएसएआईडीकी प्रमुख प्रशासक सामान्था पावरको भेटवार्तामा परराष्ट्रमन्त्री साउदले यूएसएआईडीमार्फत अमेरिकाले दिएको र दिने सहयोगको विषयमा कुराकानी हुनेछ । दाहाल नेतृत्वको सरकार आएपछि राजनीतिक मामिला विदेशमन्त्री भिक्टोरिया नुल्यान्डदेखि अन्य पदाधिकारीहरुले भ्रमण गरिसकेका छन् ।

 नेपालका दुई छिमेकी भारत र चीन विश्वमञ्चमा बलियो हुँदै गइरहेको छ । नेपालले छिमेक सम्बन्धमा उत्तिकै महत्त्व दिँदै आइरहेको छ। साथै, नेपालले विश्व शक्ति अमेरिकासँगको सम्बन्धलाई पनि उत्तिकै महत्त्व दिएको छ। प्रधानमन्त्री दाहालले नेपालले तीनै मुलुकसँगको कूटनीतिक सम्बन्ध सन्तुलित राख्न सफल भएको उल्लेख गर्नुभएको छ।