शान्ति प्रक्रिया र जलवायु परिवर्तनका मुद्दा प्राथमिकतामा
2023-10-28 17:24:09cri
Share with:

संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले आइतबारदेखि नेपालको चारदिने भ्रमण गर्ने क्रममा शान्ति प्रक्रिया र जलवायु परिवर्तनका मुद्दा प्राथमिकतामा पर्ने भएका छन्। महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भेटेरै नेपाल भ्रमणको निम्तो दिएकोमा महासचिवले त्यसलाई स्वीकार्नुभएको थियो। महासचिव गुटेरेस पोर्चुगलका पूर्वप्रधानमन्त्रीका साथै दोस्रो कार्यकालका लागि राष्ट्रसंघीय महासचिव हुनुहुन्छ।

 परराष्ट्रमन्त्री एनपी साउदले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणका महत्त्वपूर्ण एजेन्डाहरू तय भइसकेको जानकारी दिनुभयो । ‘विश्व शान्ति र नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन र हिमालयले भोगिराखेको समस्या तथा विश्व शान्तिको प्रतीक गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण, दिगो विकासका लक्ष्यलगायत नेपाल भ्रमणका मुख्य एजेन्डा हुन्,’ उहाँले भन्नुभयो।

 दिउँसो परराष्ट्रमन्त्री साउदसँग द्विपक्षीय भेटवार्ता गरेपछि प्रधानमन्त्री दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । लगत्तै नेपालका पूर्वप्रधानमन्त्रीहरूसँग सामूहिक भेटवार्ता गर्ने योजना छ। महासचिव गुटेरेस ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकनमा पनि जाने कार्यक्रम छ।

 कात्तिक १३ गते महासचिव गुटेरेस जलवायु परिवर्तनको असरलाई बुझ्न सोलुखुम्बुको स्याङ्बोचेसम्म अवलोकन गर्न पुग्ने कार्यक्रम छ । पोखरामा बस्ने, अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरा फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्ने र त्यसपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने र काठमाडौं फर्केर संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कान्तिपुर अनलाइनले जनाएको छ।

कात्तिक १५ गते बुधबार महासचिव गुटेरेस नेपालको आफ्नो चारदिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम रहेको छ ।

 महासचिवकै भ्रमणका लागि न्युयोर्कस्थित यूएनका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा नेपालमा हुनुहुन्छ। थापाको नेतृत्वमा रहेको स्थायी प्रतिनिधिको कार्यालय र यूएन तथा नेपाल सरकारबीच समन्वय गरेर महासचिवको नेपाल भ्रमणको मितिदेखि कार्यतालिका तय गरिएको हो । सन् २००८ मा यूएनका तत्कालीन महासचिव बान कि मुनले नेपालको भ्रमण गर्नुभएको थियो।

सन् २००८ अक्टोबरको अन्तिम साता मुन नेपाल आउँदा काठमाडौंमा ‘जनयुद्ध’ बाट पहिलो पटक संसदीय राजनीतिमा आएको माओवादीको सरकार थियो । त्यस बेला महासचिव मुनले नेपालको शान्ति प्रक्रिया र नेपालले संयुक्त राष्ट्रसंघ मातहत रहेर संसारका विभिन्न मुलुकमा गएर नेपाली सुरक्षाकर्मीले गरेको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । महासचिव गुटेरेसको भ्रमणका दौरान नेपालले केही महत्त्वपूर्ण विषयहरूलाई प्रस्तुत गर्ने र उनीमार्फत विश्वलाई नै सन्देश दिने गृहकार्य रहेको परराष्ट्र स्रोतले जनाएको छ ।

 नेपालले महासचिव गुटेरेसलाई नेपालमा लगेर सबैभन्दा महत्त्वपूर्ण रूपमा जलवायु परिवर्तनको असर नेपालजस्ता मुलुकमा कसरी परिरहेको छ भन्ने सन्देश संसारभर दिन चाहेको छ । नेपालमा विश्वकै सर्वोच्च शिखर सगरमाथा छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पग्लने क्रम बढ्दो छ, जसले गर्दा पर्यावरणमा असर परिरहेको छ । महासचिव गुटेरेसले सोलुखुम्बुको स्याङ्बोचे र अन्नपूर्ण सर्किट अवलोकन गरेर जलवायु परिवर्तनले पारेको असरलाई संसारभर सन्देश प्रवाह गर्न लाग्नुभएको हो।

 नेपाल सरकारले महासचिव गुटेरेसको भ्रमणका दौरान विश्वलाई नै दिन खोजेको अर्को सन्देश नेपालको आन्तरिक शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका विषयमा रहेको स्रोतले बतायो । दाहालले यूएनको ७८ औं महासभामा सम्बोधन गर्दै संक्रमणकालीन न्यायको बाँकी काम पूरा गर्नु आफ्नो मुख्य राजनीतिक एजेन्डा रहेको बताउनुभएको थियो। उहाँले नेपालले स्वदेशमा विकसित शान्ति प्रक्रिया टुंग्याउने चरणमा पुगेका विश्व समुदायलाई जानकारी दिनुभएको थियो।  ‘हामी अब तार्किक रूपमा हाम्रो अद्वितीय, राष्ट्रिय स्वामित्वको तथा स्वदेशमा विकसित शान्ति प्रक्रिया समाप्त गर्न नजिक छौं,’ दाहालको भनाइ थियो, ‘प्रधानमन्त्री तथा बृहत् शान्ति सम्झौताको सहहस्ताक्षरकर्ताको हैसियतमा मैले प्रमुख सरोकारवालाहरूबीचको दूरीलाई पूरा गर्न र सहमति निर्माण गर्न गम्भीर प्रयास गरिरहेको छु ।’

 दाहालले महासचिवको भ्रमणका दौरान नेपाल अब राजनीतिक गतिले स्थिर आकार लिएको उल्लेख गर्दै अबको ध्यान आर्थिक रूपान्तरणमा रहेको सन्देश दिन चाहेको पनि स्रोतले बतायो । दाहालले यूएनकै सम्बोधनका क्रममा नेपाल राजनीतिक उपलब्धिलाई सामाजिक–आर्थिक विकासले मात्र दिगो बनाउन सक्ने कुरामा सचेत रहेको उल्लेख गर्नुभएको थियो।

महासचिव गुटेरेसको भ्रमणमा नेपालका सुरक्षाकर्मीहरूले यूएन मातहत रहेर संसारका द्वन्द्वग्रत मुलुकमा पुर्‍याउँदै आएको शान्ति स्थापनाका बारेमा पनि चर्चा हुनेछ । नेपालले सन् १९५८ देखि विश्वमा शान्ति स्थापनाका लागि योगदान गर्दै आइरहेको छ । नेपाल अहिले संख्याको हिसाबमा सबैभन्दा बढी शान्ति सैनिक पठाउने मुलुकमा विश्वमै दोस्रो नम्बरमा रहेको छ । महासचिव गुटेरेसलाई नेपाली शान्ति सैनिकको सम्बन्धमा पनि नेपाल भ्रमणमा जानकारी गराइनेछ । स्रोतका अनुसार त्यसले नेपालले आगामी दिनमा थप शान्ति सैनिक पठाउन र यूएनका माथिल्लो तहमा पनि नेपाली पदाधिकारीहरूलाई पुग्नका लागि सहज हुनेछ ।