राष्ट्रसंघका महासचिवको भ्रमणले पोखरा र हिमाली पर्यटनमा आशाको सञ्चार
2023-10-29 16:02:17cri
Share with:

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस सोमबार पोखरा जाँदै गर्दा पोखरा र हिमाली पर्यटन क्षेत्रमा आशाको संचार भएको छ। विभिन्न देशका राष्ट्रप्रमुख र मन्त्री पोखरा आए पनि राष्ट्रसङ्घका महासचिवको भने यो पहिलो पोखरा भ्रमण हो। उहाँ पोखरामा एकरात बास बस्ने र अन्नपूर्ण बेस क्याम्प पुग्ने खबरले त्यहाँका बासिन्दा र पर्यटन व्यवसायीमा उत्साह छाएको छ। समुद्री सतहदेखि चार हजार १३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा उच्चस्तरीय भ्रमणले यो क्षेत्रको पदयात्रामा समेत ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। अन्नपूर्ण हिमालको गरिमा र महत्वलाई उजागर गर्न यो भ्रमण सहयोगी हुने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले बताउनुभयो। 

सोमबार साँझ उहाँ नेपाली सेनाको हेलिकोप्टरमार्फत पोखरा आउनुहुने छ। महासचिव गुटेर्रेस बस्ने होटलमा तयारी भइसकेको छ भने सुरक्षा व्यवस्थासमेत चुस्त बनाउने तयारी छ। कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले महासचिवको भ्रमणका बेला प्रोटोकल अनुसार चुस्त सुरक्षा व्यवस्था कायम हुने बताउनुभयो।

 अङ्ग्रेजी नयाँ वर्षमा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारीमा रहेको पोखरा महानगरले समेत उहाँको स्वागतको तयारी गरेको छ। महानगर प्रमुख धनराज आचार्य महासचिव गुटेर्रेसलाई विमानस्थलमै महानगरको तर्फबाट भव्य स्वागत गरिने बताउनुभयो। “राष्ट्रसङ्घका महासचिवको आगमनले पोखरालाई विश्वमाझ चिनाउन मद्दत गर्छ, हामी उहाँलाई भव्य स्वागत गर्ने तयारीमा छौँ,” प्रमुख आचार्यले भन्नुभयो।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ यो भ्रमण पोखरा र नेपालकै पर्यटन प्रवर्धनका लागि निकै महत्वपूर्ण हुने बताउनुभयो। सोमबार राति पोखरामा बास बसेर महासचिव गुटेर्रेस कात्तिक १४ गते मङ्गलबार बिहान अन्नपूर्ण आधार शिविरका अवलोकन गरी फेरि पोखरै फर्किनुहुने गोरखापत्र अनलाइनले जनाएको छ।

मङ्गलबारै गौतम बुद्ध जन्मस्थल लुम्बिनी उड्नुअघि पुरानो पोखरा विमानस्थलमा पत्रकार सम्मेलन हुने छ। 

यसैबीच आइतबारदेखि बुधबारसम्म नेपालको औपचारिक भ्रमण गर्दै रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले सङ्घीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ। मङ्गलबार अपराह्न बस्ने संयुक्त बैठकमा गुटेर्रेसले सम्बोधन गर्नुहुने छ।

 सम्बोधनका क्रममा उपस्थितिका लागि नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, संवैधानिक अङ्गका प्रमुखलाई आमन्त्रण गरेको छ। गुटेर्रेसको भ्रमणलाई ध्यानमा राखेर संसद्को चालु अधिवेशनसमेत लम्ब्याइएको थियो । सम्बोधनपछि अधिवेशन अन्त्यको तयारी छ । महासचिव गुटेर्रेस असोजमै नेपाल आउने र संसद्मा सम्बोधन गर्ने तयारी भए पनि इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणपछि नेपाल भ्रमण रोकिएको थियो। असोज २७ गतेका लागि सम्बोधनको तयारी भएको थियो।

 संसद् नियमावलीले विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख, सभामुख, अध्यक्ष, राष्ट्रसङ्घका महासचिवलगायतले सम्बोधन गर्न सक्ने व्यवस्था गरेको छ। राष्ट्रसङ्घका महासचिवले संसद्मा सम्बोधन गर्न लागेको यो पहिलो पटक हो । यसअघि तत्कालीन महासचिव बान कि मुनले संसद् भवनकै बैठक कक्षबाहिरको हलमा भने सांसदहरूलाई सम्बोधन गर्नुभएको थियो।

 यस्तै २०७१ साउनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालीन व्यवस्थापिका संसद्मा सम्बोधन गर्नुभएको थियो। हालको प्रतिनिधि सभाको बैठक कक्षमै मोदीले सम्बोधन गर्नुभएको थियो। २०७६ मा म्यानमारकी नेतृ आङ सान सुचीले पनि सांसदहरूलाई सम्बोधन गर्नुभएको थियो। तर उक्त सम्बोधन संसद् भवनको ल्होत्से हलमा भएको थियो।