बढ्यो वैदेशिक व्यापार, आयातमा पनि वृद्धि, तीन महिनामा ३ खर्ब ६६ अर्ब व्यापार घाटा
2023-10-29 16:04:03cri
Share with:

समग्र मागमा सुधार हुँदै जाँदा वैदेशिक व्यापार बढेको छ। आर्थिक वर्ष २०७९/८० को साउनदेखि असोजसम्मका तीन महिनामा ४ खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएकोमा चालु आवको सोही अवधिमा ४ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँबराबरको व्यापार भएको हो ।

 समीक्षा अवधिमा वैदेशिक व्यापार १.३१ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ । असोजसम्ममा आयात व्यापार पनि बढेको छ । गत वर्षको सुरुवाती तीन महिनामा ४ खर्ब ९९ करोड रुपैयाँको आयात भएकोमा चालू आवको सोही अवधिमा ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको आयात भएको छ । समीक्षा अवधिमा आयात १.६९ प्रतिशतले बढेको हो ।

 निर्यात व्यापारमा भने २.२६ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकले देखाउँछ। गत वर्षको साउनदेखि असोजसम्ममा ४१ अर्ब करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएकोमा चालू आवको सोही अवधिमा ४० अर्ब ८७ करोड रुपैयाँको मात्र निर्यात भएको छ।

 क्लिकमाण्डु अनलाइनका अनुसार तीन महिनामा नेपालले ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ घाटाको वैदेशिक व्यापार गरेको छ। वैदेशिक व्यापार घाटा २.१५ प्रतिशतले बढेको छ। गत वर्षको तीन महिनामा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँको वैदेशिक व्यापार घाटा भएको थियो।