अन्नपूर्ण बेसक्याम्पः आन्तरिक पर्यटकको रोजाईमा पर्ने लोकप्रिय गन्तव्य
2023-10-29 16:03:04cri
Share with:

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार क्षेत्रमा आन्तरिक पर्यटकको ताँती लागेको छ। दसैँतिहारको मौका छोपी अहिलेसम्मकै धेरै पर्यटक बेसक्याम्प पुगेका छन्। दसैँको घटस्थापनादेखि यता म्याग्दीका साथै नेपालका विभिन्न क्षेत्रबाट अन्नपूर्ण बेसक्याम्प जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ। 

 बडादसैँको टीकाको भोलिपल्टदेखि यता समुह बनाएर जानेको संख्या झनै बढेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो।  उहाँका अनुसार पदमार्ग सञ्चालनमा आएपछि हालसम्मकै धेरै आन्तरिक पर्यटकहरू नारच्याङ हुदै बेसक्याम्प पुगेका छन्।

यसपटक म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौँ, चितवन लगायतका क्षेत्रबाट ३ देखि १५ जनासम्मको समुह बेसक्याम्पमा गएका छन्। पर्यटकको चाप बढ्न थालेपनि पर्यटकको विवरण संकलनका साथै पर्यटकलाई खाजा–नास्ता गर्ने टि–हाउसको सुविधान भने छैन्। हालसम्म ट्रेकिङ एजेन्सी तथा ब्यक्तिगत गरी ३ सयभन्दा बढी दशै आसपासमा बेसक्याम्पमा पुगेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। 

 संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलोपटक आरोहण भएको नेपालको अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार शिविर उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट नियमित पदयात्रामा निस्कनेलाई १ दिनमै पुग्न सकिन्छ भने विस्तारै यात्रा गर्नेलाई डेढ दिनमा बेसक्याम्पस र एकदिन फर्किन लाग्छ। कम खर्चिलो र छोटो दुरीको सहज पदयात्रा भएकाले आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको छ। पदयात्राबाट फर्किएकी अन्नपूर्ण–६ घारकी सोनिमा बरुवालले पदमार्गमा शौचालय,चिया घर र थप बस्ने संरचनाको आवश्यकता रहेको बताउनुभयो। 

नागरिकन्यूज डटकमका अनुसार नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदयात्रा’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारी साधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै आधार क्षेत्रसम्म पुगिन्छ। अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म आइपुगिन्छ। त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ। 

 पदमार्ग निर्माणका लागि नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले दुई करोड ८० लाख बजेटसहित गाउँपालिकाले समेत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशाला गरी ६ वटा खोलामा झोलुंगे पुल निर्माणका साथै ६ स्थानमा आश्रयस्थल निर्माण गरेसँगै आधार क्षेत्रसम्म जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले बताउनुभयो।

 आन्तरिक पर्यटकका लागि छोटो दुरीको प्याकेजमा १ दिने, ३ दिने र लामो दुरीका लागि ७ दिन तय गर्दा सहज हुने बताइएको छ। आधार शिविरसम्म पुग्ने ठाउँ ठाउँमा निर्मित आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायत पूर्वाधारले यात्रा सहज छ। पदमार्गअन्तर्गत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशालामा गरी ६ वटा खोलामा झोलुङ्गे पुल समेत छ आधार क्षेत्रमा हेलिकोप्टरबाट धेरै पर्यटक आवतजावत गर्ने गरेका छन्। 

सात दशकअघि सन् १९५० को जुनमा अन्नपूर्ण हिमाल आरोहण गरी पर्वतारोहणको सुनौलो इतिहास रच्ने मौरिस हर्जोग र उनको टोलीले हिँडेको पुरानो मार्ग पछ्याउँदै फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको आधार क्षेत्रमा सालिकसमेत बनाइने छ। मौरिसले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो।

मौरिस नेपाललाई हिमाल आरोहणबाट विश्वमा चिनाउने पहिलो विदेशी आरोही हुन्।