आयात बढ्यो निर्यात घट्यो
2023-10-30 16:08:38CRI
Share with:

चालु आर्थिक वर्षको तीन महिनामा आयात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात असोज मसान्तसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा आयात १.६९ प्रतिशतले बढेको हो। साउन र भदौमा कमी भएको आयात भने असोजमा आएर बजारमा माग बढेसँगै आयातमा केही सुधार देखिएको हो। यस वर्षको दसैँ ढिला भई कात्तिकमा पुगेकाले चाडपर्वका लागि हुने खपतका लागि आयात बढेको गोरखापत्र अनलाइनले लेखेको छ।

विभागका अनुसार असोज मसान्तसम्म चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख रुपियाँ बराबरको वस्तु तथा सेवा आयात भएको विभागले जनाएको छ। गत वर्ष तीन महिनामा चार खर्ब ९९ करोड रुपियाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो। चालु आवको साउनमा १.५६ प्रतिशत र भदौमा ५.०६ प्रतिशतले आयात घटेको थियो। तीन महिनाको अवधिमा निर्यात २.२६ प्रतिशतले कमी आई ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपियाँको निर्यात भएको छ। गत वर्ष सो अवधिमा ४१ अर्ब ८२ करोड एक लाख ९३ हजार रुपियाँको वस्तु निर्यात भएको थियो।

आयात बढेसँगै तीन महिनामा व्यापार घाटा २.१५ प्रतिशतले बढेर तीन खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार रुपियाँ पुगेको विभागको तथ्याङ्क छ। तीन महिनामा २९ अर्ब ९२ करोड रुपियाँको डिजेल आयात भएको छ। यस्तै पेट्रोलको आयातमा १७ अर्ब १० करोड रुपियाँ खर्च भएको छ। खाना पकाउने एलपी ग्यास ११ अर्ब ६२ करोड रुपियाँ बराबरको आयात भएको छ। एक अर्ब ६० करोड ७४ लाख ३३ हजार रुपियाँको खाद्यान्न आयात भएको छ। यस्तै तीन महिनामा नौ अर्ब ४३ करोड १९ लाख रुपियाँको स्मार्ट फोन आयात भएको छ। सुन आयातमा सात अर्ब ३५ करोड रुपियाँको सुन आयात भएको छ। 

यस्तै आइरन, स्टिल, कोइला नौ अर्ब ७६ करोड ९४ लाख ३४ हजार रुपियाँ बराबरको आयात भएको छ। स्मार्ट फोन नौ अर्ब ४३ करोड १९ लाख रुपियाँ बराबरको आयात भएको छ। आयात बढेका कारण सरकारले तीन महिनामा एक खर्ब नौ अर्ब २४ करोड रुपियाँ भन्सार महसुल सङ्कलन गरेको छ।

साउन र भदौमा दुई खर्ब ५९ अर्ब ७४ करोड रुपियाँ बराबरको सामान आयात भएकामा असोज महिनामा मात्रै एक खर्ब ४८ अर्ब बराबरको आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ। भदौमा एक खर्ब ३० अर्बको आयात भएकामा असोजमा एक खर्ब ४८ अर्ब नाघेको छ। आयातमा केही सुधारसँगै तीन महिनामा भन्सार राजस्व एक खर्ब नाघेको छ। असोजसम्म कुल एक खर्ब नौ अर्ब २४ करोड ९१ लाख छ हजार भन्सार राजस्व प्राप्त भएको भन्सार विभागले जनाएको छ। गत आवको सोही अवधिमा ९६ अर्ब ६१ करोड रहेको भन्सार राजस्व चालु आवमा उल्लेख्य रूपमा वृद्धि देखिएको हो।