दसैँ मनाएपछि धान काट्न व्यस्त किसान
2023-10-31 16:14:46CRI
Share with:

बडादसैँ मनाएपछि पाल्पाका किसान धान काट्न व्यस्त हुन थालेका छन्। गत असार र साउन महिनामा लगाएको धानबाली स्याहार्न किसान खेतमा धाउन थालेका हुन्। दसैँ मनाएपछि पाल्पाको रामपुर, माडी, अर्गली, कचल, गेझा, झडेवा, पूर्वखोला फाँटका किसान पाकेको धान काट्न खेतमा व्यस्त बनेका छन्।

दसैँअघि नै पाकेको धान खुरिएर खेतमै झर्ने डरले अधिकांश किसानलाई धान काटेर स्याहार्ने हतारो छ। दसैँको बेलामा पाकेको धान १० दिन स्याहार्न ढिला हुँदा यहाँका अधिकांश किसानलाई धान काट्ने र स्याहार्ने हतारो भएको गोरखापत्र अनलाइनले लेखेको हो।

माडी कोलडाँडाका किसान खिन्तवीर चिदीले दसैँको बेलामा पाकेको धान समयमै स्याहार्न नपाउँदा पुनः खेतमै झर्ने हो कि भन्ने चिन्ता लागेको बताउनुभयो। धानका बाला भाँचिएर दाना खेतमै झर्ने चिन्ताले अधिकांश किसानले धान काट्ने हतारो गर्दा ज्यामीको अभाव भएको उहाँले बताउनुभयो। बडादसैँका कारण यो वर्ष १० दिन ढिला गरी धान काट्न सुरु गरिएको किसानको भनाइ छ। दसैँ नभएको भए यतिबेला पाल्पाको माडीफाँटका अधिकांश किसानले धान काटेर थ्रेसर लगाइसकेका हुन्थे।

धान काट्ने बेलामा चाडपर्व परेपछि अहिले सबैलाई धान काटेर सुकाउन हतार हतार भएको तानसेन–९, अम्लिहानका स्थानीय बासिन्दा बुद्ध बस्यालले बताउनुभयो। दसैँपछि सबै किसानले धान काट्ने हतारो गर्दा ज्यामीको समेत अभाव रहेको उहाँले बताउनुभयो।

पछिल्लो समय पराल स्याहार्न, धान बोक्न, धान झार्न थ्रेसर, ट्याक्टरलगायतका मेसिनको प्रयोग भए पनि धान काट्न भने अझै मेसिनको प्रयोग हुन सकेको छैन। धान काट्ने मेसिनको प्रयोग नहुँदा ज्यामीको अभाव हुने गरेको किसानको भनाइ छ। कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार ठुला आकारका खेत र टारीखेतमा धान काट्ने मेसिनको प्रयोग गर्न सकिने भए पनि खासै प्रयोग हुन सकेको छैन।

सो केन्द्रकी प्रमुख कामना अधिकारीले यस वर्ष पाल्पामा आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । धानखेती आठ हजार ८२० हेक्टरमा गर्न सकिने भए पनि सिँचाइ अभावलगायतका कारणले करिब दुई सय हेक्टरमा धानखेती हुन सकेन।

तस्वीरःगोरखापत्र अनलाइन