दसैँ बिदामा २० हजार बढी पर्यटकले निकुञ्ज घुमे
2023-10-31 16:13:06CRI
Share with:

दसैँको बिदामा २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन्। असोज २८ गते घटस्थापनाका दिनदेखि कात्तिक ११ गते पूर्णिमाको दिनसम्म २० हजार ६० जनाले निकुञ्ज घुमेका हुन्। जसमध्ये नेपाली १३ हजार दुई सय ३३ छन्।

उनीहरुले विभिन्न प्रवेशद्धारबाट भ्रमणका लागि निकुञ्ज प्रवेश गरेका हुन्। भ्रमणमा आएकामध्ये विदेशी छ हजार ४८ र सार्क देशका सात सय ७९ जनाले भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो। उहाँका अनुसार सोही समयमा सात सय ३७ पटक जीप सफारी भएको छ।

उहाँका अनुसार घुम्न आउनेमध्ये सबैभन्दा धेरै सौराहा क्षेत्रबाट निकुञ्ज प्रवेश गरेका हुन्। सौराहा क्षेत्रबाट नेपाली १२ हजार पाँच सय ५८, विदेशी चार  हजार पाँच सय ४३, सार्क मुलुकका पाँच सय ६३ जनाले भ्रमण गरेका हुन्। यस क्षेत्रबाट चार सय चार पटक जीप सफारी भएको छ।

यस्तै कसरा क्षेत्रबाट नेपाली ३०८ जना, विदेशी ७६६ जना, सार्क मुलुकका १०४ जना र जीप सफारी १६४ पटक, मेघौली क्षेत्रबाट २७७ जना नेपाली, ५०५ जना बिदेशी र सार्कका १०९ जना र १११ पटक जीप सफारी गरिएको छ। दसैंको समयमा माडी क्षेत्रबाट १३ जना नेपाली, १९ जना बिदेशी, सार्क राष्ट्रका तीन जना र जीप सफारी चार पटक, अमलटारी क्षेत्रबाट ५३ जना नेपाली २१३ जना बिदेशी र १६ पटक जीप सफारी गरिएको उहाँले बताउनुभयो।

उहाँका अनुसार कुजौली क्षेत्रबाट २४ जना नेपाली, २ जना विदेशी एबम् दुई पटक जीप सफारी गरिएको छ। दसैंको समयमा निकुञ्ज भ्रमण गर्नेहरुबाट एक करोड ८५ लाख ४४ हजार नौ सय ५० राजस्व सङ्कलन भएको छ। तिवारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष निकुञ्ज भ्रमण गर्नेको सङ्ख्यामा वृद्धि भएको छ। कोरोनाका कारण घटेको पर्यटक विस्तारै बढ्न थालेको उहाँले बताउनुभयो।

सौराहामा विदेशी पर्यटकको सङ्ख्या एक्कासी बढेको छ। दैनिक एक हजार पाँचभन्दा बढी विदेशी पर्यटक सौराहा आएको क्षेत्रीय होटल संघका अध्यक्ष गङ्गा गिरीले बताउनुभयो। कोरोनापछि सबैभन्दा बढी विदेशी पर्यटक अहिले आएका हुन्। अहिले आएका पर्यटकमध्ये तेस्रो मुलुकका ४० प्रतिशत, चिनियाँ ३० प्रतिशत, भारतीय २० प्रतिशत र स्वदेशी १० प्रतिशत रहेका छन्। उहाँको भनाइअनुसार अहिले ९० देखि ९५ प्रतिशत कोठा बुकिङ छ।

आउँदो डिसेम्बरसम्म ७५ हजारले बुकिङ गरिसकेको उहाँले जानकारी दिनुभयो। दसैंको बिदा सकिएसँगै स्वदेशी पर्यटक घटेका हुन् भने एकाएक विदेशी बढेका छन्।

सौराहामा एक सय २५ होटल र ९५ रेस्टुरेण्ट छ। मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहामा सात हजार पाँच सय पर्यटक राख्न सक्ने क्षमता छ। सफारी पर्यटनको हिसाबले विश्वमा चितवन राष्ट्रिय निकुञ्जलाई चिन्ने गरिन्छ। निकुञ्जको प्रवेशद्धारमध्ये धेरै पर्यटक प्रवेश गर्ने क्षेत्र सौराहा भएको राससले उल्लेख गरेको छ।