हिमालमा त्रासदी देखेको महासचिव गुटेर्रेसको भनाइ, नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता
2023-10-31 16:08:16CRI
Share with:

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले हिमाली क्षेत्र र नेपालमा पर्दै आएको जलवायु परिवर्तनको प्रत्यक्ष अवलोकन गर्नुभएको छ। विश्वकै सर्वोच्च निकायका व्यक्तिबाट प्रत्यक्ष रूपमा नेपालले र अप्रत्यक्ष रूपमा विश्वले नै भोग्नु परेको कहालीको प्रत्यक्ष अवलोकन भएको हो। 

यसअघि नेपालले ‘आफूले नखाएको विष’बाट विषाक्त भएको गुनासो विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा विश्व समुदाय समक्ष गर्दै आएको थियो। त्यसको प्रत्यक्ष असर महासचिव गुटेर्रेसले सोमबार सगरमाथाको खुम्बु क्षेत्रमा देखेर विश्व समुदायलाई सुनाउनुभयो। उहाँले उक्त असर देख्नु मात्र भएन त्यस अनुसार नै भन्नुभयो, “आज मैले हिमालयमा जलवायु सङ्कटको त्रासदीपूर्ण प्रभाव हेरेँ।” 

सामाजिक सञ्जाल एक्स (पूर्वट्विटर) मा भिडियो सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “सगरमाथाको आधारमा आज मैले हिमालयमा जलवायु सङ्कटको त्रासदीपूर्ण प्रभाव हेरेँ। तापक्रम वृद्धि हुँदा हिमनदी पग्लिने क्रम बढ्छ, जसले समग्र समुदायकै जीवन र जीविकोपार्जनलाई जोखिममा धकेलेको छ।” 

उहाँले भन्नुभएको छ, “म हिमायलमा छु। यहाँका हिमनदी ग्रिनल्यान्ड र अन्टार्कटिका झैँ रेकर्डस्तरमा पग्लिँदै छन्। समुद्री सतह बढ्दै छ र हामी बाढी आएको देख्न सक्छौँ। हामी पहिरो गएको हेर्न सक्छौँ। समुदाय नाटकीय रूपमा प्रभावित भएका छन्।”महासचिव गुटेर्रेसले विश्व तापक्रम वृद्धिलाई ‘पागलपन’भन्दै त्यसलाई रोक्नै पर्र्ने बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्ने सुनिश्चित गर्नु पर्छ। हिमनदी पछाडि धकेलिँदै छन्। यस प्रकारको गतिविधि रोक्नु पर्छ। हामीले जलवायु प्रभावलाई न्यूनीकरण गर्न अगाडि बढ्नु पर्छ।”

उहाँले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य नेताहरूसँग पनि जलवायु परिवर्तनको नकारात्मक असर न्यूनीकरण गर्ने विषयमा छलफल गर्नुभएको थियो। 

यसका साथै महासचिव गुटेर्रेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको पनि राससले जनाएको छ। उहाँले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा स्थानीयको सुझावसहित जलवायु परिवर्तनले हिमालमा पारेको असरबारे ध्यानाकर्षण गराउने बताउनुभयो। 

सोमबार बिहान खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीयसँग जलवायु परिवर्तन र यसले स्थानीयको जीवन तथा जीविकोपार्जनमा पारेको असरबारे अन्तर्क्रिया गर्दै उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उहाँले प्रदूषण वृद्धिमा धनी देशको भूमिका रहेको तर खुम्बु पासाङल्हामु गाउँपालिका जस्तो दुर्गममा असर पर्नु दुःखद भएको बताउनुभयो। स्थानीयले हिमनदी पग्लिने क्रम बढेको, जलवायुजन्य हानि नोक्सानी बढेको, पानीको स्रोत सुक्दै गएको, बालीनाली उत्पादनमा असर परेको, नाङ्गा हिमालमा पानी पर्दा पहिरो जाने समस्या बढेको गुनासो गरेका थिए। 

नेपाललाई सफल बनाउन सहयोग यसैबिच महासचिव गुटेर्रेसले नेपाललाई आर्थिक–सामाजिक र हरेक क्षेत्रमा सबल र सफल बनाउन राष्ट्रसङ्घीय कार्यालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ। उहाँले नेपाली जनतालाई केन्द्रमा राखेर आर्थिक–सामाजिक विकास गर्दै दिगो विकास लक्ष्य पूरा गर्न सम्भव हुने गरी दृढतासाथ सहयोग गर्न आग्रह गर्नुभयो। ललितपुरस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेर्रेसले भन्नुभयो, “शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउने, जलवायु परिवर्तनका प्रतिकूल असरबाट प्रभावित समुदायलाई पुनः स्थापित गर्न र नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने विषयलाई प्राथमिकतामा राखेर नेपाल भ्रमण गरेको छु।”