युनेस्कोको सिर्जनशील सहरको सूचीमा छानियो काठमाण्डु
2023-11-01 16:29:53CRI
Share with:

नेपालको संघीय राजधानी काठमाण्डु सहर युनेस्कोको सिर्जनशील सहरमा सूचीकृत भएको छ। युनेस्कोले आफूमातहत रहेको रचनात्मक सहर सञ्जालमा काठमाण्डुलाई पनि जोडेको हो। सञ्जालमा यसअघि नै एक सयभन्दा धेरै देशबाट ३५० वटा सहरहरू संलग्न छन् भने यसपटक अरु ५५ सहर थपिएका हुन्। त्यसमध्ये काठमाण्डु चलचित्र विधाबाट सिर्जनशील सहरका रूपमा सञ्जालमा जोडिएको कान्तिपुर अनलाइनले लेखेको हो।

रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाण्डु महानगरपालिककाले चलचित्र विधा छनोट गरेको र सञ्जालमा जोडिएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभएको छ। सञ्जालमा आबद्ध हुन शिल्प तथा लोककला, सङ्गीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नु पर्ने प्रबन्ध थियो। यीमध्ये महानगरपालिकाले चलचित्र विधा छानेको उहाँको भनाइ छ।

रचनात्मक सहरका सबै विधाहरू काठमाण्डुसँग सम्बन्धित छन्। चलचित्र विधाबाट सबै क्षेत्र समेट्न सकिने भएकोले महानगरपालिकाले यो विधा छानेको प्रवक्ता मानन्धरले बताउनुभयो। 'जनजीवन, भूगोल, बस्ती र सांस्कृतिक मूर्त अमूर्त सम्पदासँग जोडिएका ऐतिहासिक र पुरातात्विक रोचक कथाका कारण काठमाण्डुलाई रचनात्मक सहरका रूपमा हेर्ने गरिएको छ। जात्रा पर्व, मौलिक भेषभुषा, खानपान काठमाण्डुसँग जोडिएर आउने बिम्ब हुन्,' प्रवक्ता मानन्धरले भन्नुभयो, 'सञ्जालमा जोडिएपछि अब यसको थप प्रसार र विकासमा मद्धत पुग्ने अपेक्षा गरिएको छ।'

यसवर्ष थपिएका ५५ सहरमध्ये सङ्गीत विधामा १६ वटा, डिजाइनमा ६ वटा, शिल्प तथा लोककलामा ७ वटा, साहित्यमा १० वटा, ग्यास्ट्रोनमी (खानाका परिकार) मा ७ वटा, मिडिया कलामा ४ वटा सहर जोडिएका छन्।