महासचिव गुटेरेस काठमाण्डुबाट प्रस्थान
2023-11-01 16:22:14CRI
Share with:

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज बुधबार काठमाण्डुबाट प्रस्थान गर्नुभएको छ। उहाँलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गर्नुभएको छ।

सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो। महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते आउनुभएको थियो। महासचिव गुटेरेसले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो। साथै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग महासचिव गुटेरेसको अलग–अलग भेटवार्ता भएको थियो।

भ्रमणका क्रममा महासचिव गुटेरेस सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रका साथै पोखरा र लुम्बिनी जानुभएको थियो। उहाँले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको थियो। प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुभएको थियो। भम्रणका दौरान उहाँले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको थियो।

सो क्रममा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताउनुभएको छ। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले भन्नुभयो, “नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्र संघ गौरव व्यक्त गर्दछ, यस क्षणमा म नेपालका शान्ति प्रक्रियामा संलग्न नेताहरुप्रति राष्ट्र संघका तर्फबाट सम्मान व्यक्त गर्दछु।”

नेपालले शान्ति प्रक्रियाअन्तर्गत सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पुर्याउन लागेकामा शुभेच्छा व्यक्त गर्नुहुँदै उहाँले पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुङ्गोमा पुर्याउन आग्रह गर्नुभयो। महासचिव गुटेरेसले विश्व आर्थिक मन्दीको चुनौतीका बीच नेपालले लैङ्गिक समताका क्षेत्रमा गरेको प्रगति र परिणाम उल्लेखनीय भएको बताउनुभयो।

यस्तै, महासचिव गुटेरेसले नेपाली सेनाले राष्ट्रसङ्घीय शान्ति मिसनका लागि गर्दै आएको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ। सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै महासचिव गुटेरेसले शान्ति मिसनका क्रममा मारिएका नेपाली सुरक्षाकर्मीको सम्मानमा एक मिनेट मौनधारण गर्न प्रस्ताव गर्दा बैठकमा सबै सदस्यहरु आफ्नो स्थानबाट उठेर मौनधारण गर्नुभएको थियो।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि नेपालको भ्रमणमा आउनुभएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, गरिबी निवारणलगायत विषयमा छलफल गर्नुभएको थियो। राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा भएको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्रसङ्घका अन्य अधिकारीहरू सहभागी रहेको राससले जनाएको छ।