घरजग्गा कारोबारमा वृद्धि
2023-11-02 16:43:17CRI
Share with:

काठमाडौँमा पछिल्लो समय घरजग्गा कारोबार बढ्दै गएको छ। सरकारले जग्गा कित्ताकाट फुकुवा गरेसँगै घरजग्गा कारोबारमा पनि वृद्धि भएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार असोज महिनामा काठमाडौँमा घरजग्गा कारोबारमा वृद्धि भएको देखिएको छ। चालु आर्थिक वर्ष २०८०-८१ को असोज महिनामा काठमाडौँमा दुई हजार ३१५ को सङ्ख्यामा घरजग्गा कारोबार भएको छ। भदौ महिनामा एक हजार ९५० को सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो।

असोजमा भएको घरजग्गा कारोबार भदौको तुलनामा १८ प्रतिशतले बढी हो। साउनको तुलनामा भदौमा १० प्रतिशतले घरजग्गाको कारोबार बढेको थियो। साउनमा एक हजार ७६० को सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो। गत वर्ष असोज महिनाको तुलनामा यस वर्षको सोही समयमा घरजग्गा कारोबार ४८ प्रतिशतले बढेको गोरखापत्र अनलाइनले लेखेको छ।

गत वर्ष असोजमा एक हजार ५९६ सङ्ख्यामा मात्र घरजग्गा कारोबार भएको थियो। घरजग्गा किनबेचसँगै कित्ताकाट पनि वृद्धि भएको छ। भदौको तुलनामा असोजमा ३४ प्रतिशतले जग्गा कित्ताकाट बढेको विभागको तथ्याङ्क छ। भदौमा पाँच सय ३२ सङ्ख्यामा जग्गा कित्ताकाट भएको थियो भने असोजमा सात सय १५ सङ्ख्यामा कित्ताकाट भएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अधिकारी बलराम काफ्लेका अनुसार घरजग्गा कारोबार बढ्नुमा भू–उपयोग नियमावली संशोधन गरेर जग्गा कित्ताकाट खुल्ला गर्नु प्रमुख कारण हो। यस्तै बैङ्कले सस्तो ब्याजदरमा कर्जा प्रवाह गरेका कारण पनि घरजग्गाको कारोबार बढेको हुनसक्ने उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, “सरकारले भू–उपयोग नीति संशोधन गरी जग्गा कित्ताकाट खुला गरेसँगै घरजग्गा कारोबार बढी रहेको छ। बैङ्कले सस्तो ब्याजदरमा कर्जा प्रवाह गरेकाले पनि घरजग्गाको कारोबार वृद्धि भएको हो।”

उहाँका अनुसार साउनदेखि असोजसम्म निरन्तर घरजग्गाको कारोबार बढेको छ। अहिले विशेष गरी बालीनाली भित्र्याएपछि जग्गा बेच्न चाहने र छोराछोरीलाई विदेश पढाउनका लागि जग्गा बेच्ने गरेका कारण पनि घरजग्गाको कारोबार बढेको उहाँको भनाइ छ। घरजग्गाको कारोबार अबको चैतसम्म नै बढ्ने काफ्ले बताउनुहुन्छ। अरू समयमा घरजग्गाको कारोबार बढे पनि चैतदेखि असारसम्म भने कारोबार घट्ने गरेको उहाँ बताउनुहुन्छ।