अक्टोबर महिनामा हालसम्मकै सर्वाधिक पर्यटक आगमन
2023-11-02 16:42:03CRI
Share with:

सन् २०२३ को अक्टोबर महिनामा हालसम्मकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हवाई मार्गबाट अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल भित्रिएका हुन्।

एक महिनामा नेपाल भित्रिएको पर्यटकको उक्त सङ्ख्या इतिहासकै सर्वाधिक रहेको बोर्डले जनाएको छ। यसअघि सन् २०१९ को अक्टोबरमा एक लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए। त्यस्तै सन् २०२० को अक्टोबरमा एक हजार ८३१, सन् २०२१ को अक्टोबरमा १५ हजार ७१५ र सन् २०२२ को सोही अवधिमा ५२ हजार १२१ पर्यटक नेपाल आएको बोर्डको तथ्याङ्कले देखाएको छ।

बोर्डका अनुसार सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्म नेपाल भित्रिने पर्यटकको सङ्ख्या झन्डै नौ लाख पुगेको छ। जनवरीदेखि अक्टोबरसम्म आठ लाख ९९ हजार ६६८ पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६ र अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक नेपाल भित्रिएका छन्। त्यस्तै मेमा ७७ हजार ७०३, जुनमा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६ र अगस्टमा ६७ हजार १५३, सेप्टेम्बरमा ९१ हजार १२ र अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल आएका छन्।

अक्टोबरमा सबैभन्दा धेरै भारतबाट १८ हजार ४८० पर्यटकले नेपाल भ्रमण गरेका छन्। त्यस्तै अमेरिकाबाट १४ हजार ८७९, बेलायतबाट आठ हजार २१७, चीनबाट छ हजार ८८०, अस्ट्रेलियाबाट छ हजार ७५, जर्मनीबाट पाँच हजार ९१६, फ्रान्सबाट पाँच हजार २७१, बङ्गलादेशबाट चार हजार २९२, श्रीलङ्काबाट दुई हजार ५०७ र इटलीबाट दुई हजार ४६७ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ। सरकारले सन् २०२३ भित्र १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको गोरखापत्र अनलाइनले लेखेको छ।

यसैबिच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको नेपाल भ्रमण पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। चारदिने भ्रमण सकेर बुधबार न्युयोर्क फर्किनुभएका महासचिव गुटेर्रेसले नेपाल भ्रमणका क्रममा ऐतिहासिक पाटन दरबार क्षेत्र, सगरमाथा क्षेत्र, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी क्षेत्रको भ्रमण गर्नुभएको छ।

पर्वतारोहण, पदयात्रा र धार्मिक पर्यटनका दृष्टिले निकै महत्वपूर्ण मानिएका गन्तव्यमा महासचिव गुटेर्रेसले गर्नुभएको भ्रमणपछि अन्तर्राष्ट्रिय समुदायमा नेपालको पर्यटन प्रवर्धन भएको र थप पर्यटक आगमन दर बढ्ने विश्वास गरिएको छ।

महासचिव गुटेर्रेसको नेपाल भ्रमणले पर्यटन क्षेत्रको प्रवर्धनसँगै जलवायु परिवर्तनका कारण परेको असरबारे विश्वको ध्यानाकर्षण गराउन, जलवायु परिवर्तनबारे अध्ययन तथा अवलोकनका लागि नेपाल आउने पर्यटक तथा विज्ञहरूको सङ्ख्यासमेत बढ्ने नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले बताउनुभयो।

उहाँले भन्नुभयो, “महासचिव गुटेर्रेसको नेपाल भ्रमण ऐतिहासिक हुनाका साथै पर्यटकीय विकासका दृष्टिले फलदायी भएको अपेक्षा गरिएको छ। विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालका हिमशृङ्खलाको हिउँ दिनप्रतिदिन पग्लिँदै गएको अवस्थामा जलवायु परिवर्तनको असरबारे नेपालले भाग्दै आएको समस्यामाथि महासचिव गुटेर्रेसले व्यक्त गर्नुभएको धारणा नेपालको पर्यटन प्रवर्धनका लागि कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ।”

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको लुम्बिनी, जनकपुर र मुक्तिनाथको दर्शनले पनि ती क्षेत्रमा भारतीय पर्यटक बढेको स्मरण गर्दै उहाँले विश्वका प्रभावशाली व्यक्तिको भ्रमणले उक्त क्षेत्रको पर्यटन प्रवर्धनमा टेवा पुग्दै आएको बताउनुभयो।

होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहले महासचिव गुटेर्रेसको नेपाल भ्रमणबारे अन्तर्राष्ट्रिय चासोको विषय बनेकाले सर्वोच्च शिखर सगरमाथालगायतका पर्यटकीय गन्तव्यको विश्वभर नेपालको प्रवर्धन भएको बताउनुभयो। उहाँले भन्नुभयो, “गुटेर्रेसको भ्रमण राजनीतिक र आर्थिक रूपमा मात्रै नभई पर्यटन प्रवर्धनका दृष्टिले समेत महत्वपूर्ण देखिएको छ। आगामी दिनमा नेपालको पर्यटन क्षेत्र थप चलायमान हुने विश्वास गरिएको छ।”

महासचिव गुटेर्रेसको भ्रमणले जलवायु परिवर्तनका कारण वातावरणमा परेको प्रभाव न्यूनीकरण गर्दै दिगो पर्यटन विकासमा यसले विश्वव्यापी रूपमा बहस हुने उहाँको भनाइ छ। उहाँको भ्रमणले पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षासहित पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने देखिएको उहाँले बताउनुभयो।