नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट
2023-11-03 17:12:34CRI
Share with:

नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ। शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो।

यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो। काठमाडौंमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ।

मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाउनुभएको थियो। त्यस्तै गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोड्नुभएको थियो।

पहिले ब्याटिङ गरेको युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिनुभएको थियो। ३ ओभर बलिङमा उहाँले ११ रन खर्चेर ३ विकेट लिनुभयो। त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिनुभएको अनलाइन खबरले लेखेको छ।