फोरजी चलाउने दुई करोड नाघे
2023-11-03 17:18:23CRI
Share with:

नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार ०८० सालको असारसम्ममा मोबाइल ब्रोडब्यान्डअन्तर्गत फोरजी सेवा लिनेको संख्या २ करोड १ लाख ३२ हजार ९ सय ६१ पुगेको छ।

सेवा सञ्चालनमा आएको साढे ६ वर्षपछि नेपालमा फोरजी चलाउने प्रयोगकर्ताको संख्या २ करोड नाघेका छन्। फोरजी चलाउनेको संख्या एनसेलभन्दा नेपाल टेलिकमका प्रयोगकर्ताका धेरै छन्। प्राधिकरणको एमआईएस प्रतिवेदनअनुसार नेपाल टेलिकमको सिमबाट फोरजी चलाउनेको संख्या १ करोड ३० हजार १५ हजार ३ सय ९५ रहेकामा एनसेलबाट फोरजी चलाउनेको संख्या ७१ लाख १७ हजार ५ सय ६६ छ। दुवैमा गरी एक महिनामा फोरजी चलाउनेको संख्या १ लाख ७० हजार ८ सय ५४ जना थपिएका छन्। ०८० जेठमा कुल फोरजी प्रयोगकर्ताको संख्या १ करोड ९९ लाख ६२ हजार १ सय ७ थियो।

गत वर्ष असारमा फोरजी सेवाका ग्राहक १ करोड ८५ लाख ५९ हजार ५ सय २२ रहेकोमा यस वर्ष सोही अवधिसम्म १५ लाख ७३ हजार ४ सय ३९ जना थपिएका हुन्। गत वर्ष असारमा थ्रीजी प्रयोगकर्ताको कुल संख्या १ करोड ४६ हजार ६ रहेकामा यसपालि सोही अवधिमा ७७ लाख ३२ हजार ९ सय ४१ मा झरेको छ।

नेपालमा ०७३ सालदेखि फोरजी सेवा सुरु भएको हो। सरकारी स्वामित्वको नेपाल टेलिकमले ०७३ पुसबाट चौथो पुस्ताको फोरजी सेवा सुरु गरेको थियो। निजी स्वामित्वको एनसेल आजिएटाले पनि ०६७ मै फोरजीका लागि फ्रिक्वेन्सी र अनुमति मागेको भए पनि टेलिकमभन्दा ढिलो अनुमति प्राप्त गरेको थियो। ०७७ सालमा हुम्ला सदरमुकाम सिमकोटमा फोरजी विस्तारसँगै नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी पुगेको जनाएको थियो।

चालु आर्थिक वर्षको बजेटमा सरकारले देशभर द्रुत गतिको इन्टरनेट पहुँच पुर्‍याउन फोरजी सेवा विस्तार गरिने उल्लेख गरेको छ। ०७८ कात्तिकमा सरकारले नेपाल टेलिकमलाई फाइभजी सेवाको परीक्षणलाई अनुमति दिएको भए पनि हालसम्म खास परीक्षण हुन नसकेको कान्तिपुरले लेखेको छ।

नियामक दूरसञ्चार प्राधिकरणले टेलिकमलाई एक वर्षभित्र फाइभजी परीक्षण गर्न २६ सय ब्यान्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको थियो। फ्रिक्वेन्सी र अनुमती पाएको दुई वर्ष भइसकेको छ। यसबीच टेलिकमले काठमाडौं, पोखरा र वीरगन्जका केही स्थानमा नाम मात्रको आन्तरिक परीक्षण गर्दै आएको छ। यो सबैमाझ ग्राहकहरू भने नवीनतम प्रविधि प्रयोग गर्न आतुर देखिन्छन्। थ्रीजीबाट फोरजीमा सर्ने ग्राहकको उल्लेख्य संख्याले पनि आगामी पुस्ताको प्रविधिमा प्रयोगकर्ताको चासो छर्लंग देखाउँछ।