सम्पूर्ण शक्ति भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित : उपप्रधानमन्त्री खड्का विशेषज्ञ चिकित्सकसहितको ४१ जना स्वास्थ्यकर्मीको टोली पठाइएको
2023-11-04 16:34:17CRI
Share with:

नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्यको सम्पूर्ण शक्ति भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमा केन्द्रित रहेको बताउनुभएको छ। सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले प्रधानमन्त्री जाजरकोट पुगिसकेको र आफू सुर्खेत विमानस्थलमा खटिएको बताउनुभयो। खड्का शुक्रबार नै सुर्खेत आउनुभएको थियो।

खड्काका अनुसार अहिले नेपाली सेनासँग भएका चारवटा हेलिकप्टोरहरु घाइतेको उद्धारका लागि खटाइएको छ। सेनाको जनशक्ति प्रभावित क्षेत्रमा पठाउने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो। उहाँले राहतको काम पनि तत्कालै सुरु गर्ने गरी कामहरू अघि बढ्ने बताउनुभयो।

साथै सुर्खेतमा रहेको सानो हेलिकप्टरबाट घाइतेहरूलाई उद्धार गर्ने कार्य भइरहेको गोरखापत्र अनलाइनले लेखेको छ।

यसै गरी, नेपाल सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा विशेषज्ञ चिकित्सकसहितको ४१ जना स्वास्थ्यकर्मीको टोली पठाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले शनिबार बिहान उक्त टोली त्यसतर्फ गएको जानकारी दिनुभयो।

उहाँका अनुसार टोलीमा नेपाल सैनिक अस्पतालबाट १६ जना, नेपाल प्रहरी अस्पतालबाट ११ जना, सशस्त्र प्रहरी अस्पतालबाट आठ जना र वीर अस्पतालबाट छ जना चिकित्सक र नर्स छन्। “चिकित्सक टोली जिल्ला अस्पतालमै घाइतेको शल्यक्रिया गर्ने व्यवस्थासहित गएको छ”, उहाँले भन्नुभयो, “हामीले आवश्यकअनुसार केन्द्रबाट थप जनशक्ति पठाउने छौँ।”

यसै बीच, नेपाल चिकित्सक संघले प्रकोपको समयमा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउन सङ्घ तयार रहेको बताएको छ।

सङ्घले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गर्दै विपतमा परेका नागरिकको तत्काल उद्धार गरी घाइतेको उपचारमा संलग्न हुनका लागि दाङ, सुर्खेत र जुम्ला शाखाका चिकित्सकलाई भूकम्पबाट प्रभावित जिल्लामा खटाइ सकिएको जानकारी दिएको राससले जनाएको छ। 

“भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोट बारेकोट गाउँपालिका र अन्य विकट क्षेत्रमा भएको जनधनको क्षतिले नेपाल चिकित्सक सङ्घ स्तब्ध भएको छ”, सङ्घको विज्ञप्तिमा भनिएको छ, “राज्यलाई आवश्यक परेको अवस्थामा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउने गरी तयारी अवस्थामा रहन नेपाल चिकित्सक सङ्घ भेरी शाखा, दाङ शाखा, जुम्ला शाखा र सुर्खेत शाखासँग नियमित सम्पर्क भइरहेको र सोहीअनुरुपको व्यवस्था गर्न शाखा कार्यालयलाई परिचालित गरिएको छ।”