भेरी अस्पतालमा उपचाररत भूकम्पका सबै घाइते खतरामुक्त
2023-11-05 17:04:31CRI
Share with:

नेपालगन्जको भेरी अस्पतालमा उपचार गराई रहनु भएको ३८ जना घाइते सबै खतरामुक्त रहेको अस्पतालले जनाएको छ। यीमध्ये पाँच जनाको सफल शल्यक्रिया गरिएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भेरी अस्पतालमा उपचाररत पाँच जनाको शल्यक्रिया गरिएको जनाउँदै शल्यक्रिया सफल भएको बताउनुभयो। एक गर्भवती महिलाको बच्चा पेटमा नै मरेकोले उनको पनि शल्यक्रिया गर्ने तयारी भइरहेको उहाँले जनाउनुभयो।

उहाँले शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका पाँच जना घाइतेको शनिवार राती १२ बजे सफलतापूर्वक शल्यक्रिया गरिएको जानकारी दिनुभयो। शल्यक्रियामा भेरी अस्पतालका चिकित्सकहरू डा. प्रकाश थापा र डा. तीर्थेन्द्र खड्कालगायतको सहभागिता थियो।

प्रकोप व्यवस्थापन टिमका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेका सबै घाइते खतरामुक्त रहेको र उहाँहरूको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत रहनुभएका एक जना घाइतेलाई पनि भेरी अस्पतालमै ल्याउने व्यवस्था गर्न लागिएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो।

भेरी अस्पतालमा उपचाररतमध्ये दुई जनालाई आइसियुमा राखेर उपचार भइरहेको र अन्यको सामान्य वार्डमा राखेर उपचार भइरहेको भेरी अस्पतालले जनाएको छ। यसैबिच शनिवार राति थप ६ जना घाइतेलाई भेरी अस्पतालमा ल्याइएको थियो। राति पौने एक बजे जाजरकोटका २ र रुकुम पश्चिमका ४ जना घाइतेलाई भेरी अस्पतालमा ल्याइएको भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।