नेपाल सरकारले भूकम्पमा मृत्यु भएकालाई दुई लाख राहत दिने
2023-11-05 17:08:31CRI
Share with:

नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक रु. दुई लाखका दरले राहत दिने निर्णय गरेको छ। सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभएको हो। 

यसैगरी जाजरकोट भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो। शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा एक सय ५७ जनाको निधन भएको थियो।

यसै बीच, रुकुम पश्चिममा पहिलो चरणको उद्धार सकिएको र राहत वितरण थालिएको राससले जनाएको छ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु भएकाहरूको सम्झनामा आज सार्वजनिक बिदा दिएको छ। साथै नगरकार्यपालिकामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। नगरप्रमुख रवि केसीले जाजरकोट र रुकुम पश्चिम जिल्लामा भूकम्पबाट  मानवीय एवं भौतिक संरचनामा पनि क्षति पुर्‍याकाले आठबीसकोट नगरपालिकाले सार्वजनिक बिदा दिइ उद्धारमा एकीकृत हुन आह्वान गरेको बताउनुभयो। उहाँले  कठिन परिस्थितिमा आ–आफ्नो ठाउँबाट राहत तथा उद्धारमा जुट्न नगरवासीलाई अनुरोध गर्नुभएको छ। भूकम्पपीडितको राहत तथा पुनःस्थापनाका लागि नगरपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिले एक–एक महिनाको तलब नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको नगरप्रमुख केसीले जानकारी दिनुभयो।

तत्कालका लागि मृतकका परिवारलाई रु २५ हजारका दरले किरिया खर्च उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। उपप्रमुख धनकुमारी शाहीको संयोजकत्वमा ११ सदस्यीय विपद् क्षति लगत सङ्कलन मूल्याङ्कन समिति निर्माण गरिएको नगरप्रमुख केसीले जानकारी दिनुभयो। नगरपालिकामा मानवीय र भौतिक संरचनामा क्षति पुगेकाले दातृ निकाय, सङ्घसंस्थालाई सहयोग गर्न नगरपालिकाले अपिल गरेको छ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो। सोही भूकम्पमा परी ४२ जनाको मृत्यु भएको छ भने सात जनाको प्रादेशिक अस्पताल सुर्खेत र ९५ जनाको नगर अस्पताल राडीम उपचार भइरहेको नगरप्रमुख केसीले जानकारी दिनुभयो। पहिलो चरणको उद्धार सकिए पनि आइतबारबाट राहत वितरणको काम सुरु हुने नगरपालिकाले जनाएको छ।