नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगीलाई राष्ट्रपति पौडेलको आह्वान
2023-11-06 16:39:29cri
Share with:

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्नुभएको छ। एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा काठमाडौँमा दुई दिनसम्म चल्ने ३७ औँ म्मेलनको सोमबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो आह्वान गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

 

उहाँले आर्थिक विकासको तीव्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्ने लगानी र व्यापार सम्बन्धका धेरै अवसर रहेको धारणा व्यक्त गर्नुभयो।“नेपाली विद्युतको बजार अब भारत र बङ्गलादेश पनि बन्दैछ, विद्युत व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खोलेको छ । म नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु”, उहाँले भन्नुभयो ।

 

राष्ट्रपति पौडेलले शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितहरुलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीलाई अपिल पनि गर्नुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ।“आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन, यो हाम्रो भविष्यको आधारशिला हो । साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन् । तिनीहरूले  वृद्धि, नवीनता र रोजगारी सिर्जना गर्छन्”, उहाँले भन्नुभयो । उहाँले उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नु मात्र होइन, यो नवप्रवर्तनलाई अँगाल्ने, विविधतालाई सघनीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौती समाधान गर्ने सबैभन्दा  बलियो आधार पनि हो भन्नुभयो।

राष्ट्रपति पौडेलले दिगो उद्यमशीलता र व्यापार वास्तवमै समृद्ध र दिगो भविष्यका आधारशिला भएको बताउँदै उहाँले व्यापार हाम्रो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो।

नेपाल भौगोलिक रुपमा चीन र भारतबीच हुनु व्यापारका लागि रणनीतिक फाइदा हो भन्दै उहाँले यो स्थितिले नेपाललाई ती विशाल उपभोक्ता बजारमा पहुँच गर्न खोज्ने व्यवसायहरूको लागि प्राकृतिक प्रवेशद्वार बनाउँछ भन्नुभयो ।

“दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेक लगायतका क्षेत्रीय व्यापार सम्झौतामा नेपालको सदस्यताले यस क्षेत्रका व्यापार साझेदारको विशाल सञ्जालमा व्यवसायलाई पहुँच प्रदान गर्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

 

नेपालको श्रम बजारमा सक्रिय, अनुशासित र शान्तिप्रिय श्रमशक्ति अधिक छ, यो दक्ष श्रम, नवप्रवर्तन र उद्यमशीलताको सम्भावना खोज्ने व्यवसायहरूको लागि सम्पत्ति भएको उहाँको धारणा थियो । उहाँले देशको बढ्दो मध्यम वर्ग एक उदीयमान उपभोक्ता बजार हो, जसले खुद्रा, उपभोग्य वस्तु र सेवालगायत विभिन्न उद्योगका लागि अवसर प्रस्तुत गर्दछ भन्नुभयो ।

प्राकृतिक विविधतायुक्त नेपालले पर्यटन क्षेत्रको विकासको प्रचुर सम्भावना बोकेको छ र यसमा आज हुने लगानीले भोलि प्रतिफल दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । सूचना प्रविधि, उत्पादनमूलक उद्योग, कृषिजन्य उद्योग नेपालमा सम्भावना भएका अन्य क्षेत्र भएकाले यी क्षेत्रमा पनि लगानी बढाउन उहाँले आग्रह गर्नुभयो ।

उहाँले ३७ औं क्यासी सम्मेलन नेपालको व्यापार, लगानी र एसिया प्रशान्त क्षेत्रका देशहरूसँगको कनेक्टिभिटीलाई आगामी दिनमा अगाडि बढाउने औजार हुनेछ भन्नुभयो।  यस सम्मेलनका विषय विश्वव्यापी चिन्ता मात्र होइन, नेपालको आर्थिक विकास र दिगोपनका लागि उत्तिकै सान्दर्भिक छन् भन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।