अलैँची निर्यात ५६ प्रतिशतले वृद्धि
2023-11-07 17:13:39cri
Share with:

चालु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) अलैँची निर्यात ५६ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अलैँची निर्यात ५६.८ प्रतिशतले बढेर  एक अर्ब ८९ करोड ७६ लाख सात हजार रुपियाँको निर्यात भएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएकाले निर्यातमा वृद्धि भएको हो । गत वर्ष सो अवधिमा एक अर्ब २० करोड ६१ लाख ४५ हजार रुपियाँको अलैँची निर्यात भएको थियो ।

 

विभागका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा आठ अर्ब २७ करोड ६८ लाख ५० हजार रुपियाँको अलैँची निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा अलैँची निर्यात ७२ प्रतिशतले वृद्धि भएको विभागको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७८/७९ मा  चार अर्ब  ८१ करोड ३४ लाख ६५ हजार रुपियाँको अलैँची निर्यात भएको थियो । नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँचीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएपछि निर्यातमा समेत वृद्धि हुने गर्छ । अलैँची औषधी, मसलाका रूपमा प्रयोग हुने गर्छ ।

 

नेपालमा उत्पादित वस्तुमध्ये सर्वाधिक निर्यात हुने वस्तुमध्येको एक हो अलैँची । जसलाई कालो सुनको उपनामले चिनिन्छ । वैदेशिक व्यापार घाटा कम गर्न योगदान पु¥याउने अलैँची नेपालका ४३ भन्दा बढी जिल्लामा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ । 

 

आव २०७७/७८ मा सात अर्ब दुई करोड २४ लाख ९३ हजार रुपियाँ बराबरको आठ हजार ८५७.३४ मेट्रिक टन अलैँची निर्यात गरेको थियो। गोरखापत्र अनलाइनका अनुसार आव २०७६/७७ मा चार अर्ब एक करोड ९२ लाख रुपियाँको अलैँची निर्यात गरेको छ भने आव २०७५/७६ मा चार अर्ब २८ करोड ४२ लाख रुपियाँ अलैँचीबाट भित्रिएको थियो।

नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची, जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ । नेपाली अलैँची निकासी हुने ठुलो बजार भनेको भारत नै हो । नेपालबाट भारततर्फ गएको अलैँचीलाई भारतले प्याकेजिङ गरेर आफ्नो ब्रान्ड बनाएर अन्य देशमा निर्यात हुने गरेको पाइएको छ । नेपालले नै अन्तर्राष्ट्रिय रूपमा अलैँचीको बजारीकरण गर्दै आफ्नो उत्पादनको उच्च मूल्य पाउने अवस्था सिर्जना गर्नेतर्फ पहल हुनुपर्ने विज्ञहरूले औँल्याएका छन् । अलैँची औषधी र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि खेती गर्ने क्षेत्रफल भने घट्दै गएको छ ।

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार आव २०७७/७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा आठ हजार २८९ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । यस्तै आव २०७६/७७ मा १६ हजार ५६५ हेक्टर क्षेत्रफलमा नौ हजार ५४५ मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।

 

आव २०७५/७६ मा १५ हजार ५५ हेक्टर क्षेत्रफलमा सात हजार ९५४ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, मोरङलगायतका जिल्लामा अलैँची उत्पादन हुन्छ । नेपालका ४२ भन्दा बढी जिल्लामा अलैँची खेती हुने गर्छ । ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, खोटाङ जिल्लामा धेरै अलैँची खेती हुने गरेको छ ।