पश्चिम नेपालको भूकम्प प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी
2023-11-08 16:27:56cri
Share with:

जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको राहत, उद्धार र पुनस्र्थापनाका लागि विभिन्न राजनीतिक दलले आर्थिक सहयोग गरेका छन् । उद्धार कार्यमा पार्टी सङ्गठन परिचालन गरेका दलहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग पनि गरेका छन् ।

नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपियाँ सहयोग गरेको छ । मङ्गलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटारमा भेटेर सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

 

कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि नौबुँदे सुझाव पेस गर्दै सरकारको ध्यानाकर्षण पनि गराएको छ । भूकम्पपछिको खोज र उद्धारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको कांग्रेसले प्रशंसा गरेको छ । 

 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले खोज र उद्धारको पहिलो चरणको काम सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । राहत र पुनर्निर्माणको दोस्रो चरणको काम द्रुत गतिमा हुने जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हिजो मात्र दुवै छिमेकी राष्ट्रका राजदूतलाई छुट्टाछुट्टै बोलाएर राहतका लागि कुरा भएको छ । सबैतिरबाट आर्थिक र अन्य सहयोग आउने क्रम जारी छ ।”

 

नेकपा माओवादी केन्द्रले भूकम्प प्रभावितहरूको उद्धार एवं राहतका लागि पचास लाख रुपियाँ सहयोग हस्तान्तरण गरेको छ । पार्टी उपाध्यक्ष पम्फा भुसाललगायतका नेताहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डलाई मङ्गलबार रकम हस्तान्तरण गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) ले पनि भूकम्पपीडितका लागि २५ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । भूकम्पपीडितलाई तत्काल राहत र पुनस्र्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउँदै मङ्गलबार पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोलीले प्रधानमन्त्री प्रचण्डलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो । मङ्गलबार विभिन्न दल र बैङ्क तथा वित्तीय कम्पनीबाट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चार करोड ५० लाख रुपियाँको चेक हस्तान्तरण भएको छ ।  आइएमई ग्रुपले भूकम्पपीडितको राहतका लागि एक करोड ५० लाख रुपियाँ आर्थिक सहयोग गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । ग्लोबल आइएमई बैङ्क लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइएमई फाउन्डेसनमार्फत उक्त सहयोग प्राप्त भएको हो । 

 

सूर्य नेपालले भूकम्पपीडितको उद्धार एवं राहतका लागि एक करोड रुपियाँ सहयोग गरेको छ । मङ्गलबार सूर्य नेपालका उपाध्यक्ष रवि केसीलगायतको टोलीले प्रधानमन्त्री प्रचण्डलाई चेक हस्तान्तरण गरेको छ ।

 

त्यस्तै राष्ट्रिय वाणिज्य बैङ्कले पनि एक करोड रुपियाँको चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेको छ । बैङ्कले भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार र राहतका लागि बैङ्कले मङ्गलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी चेक हस्तान्तरण गरेको हो । नेपाल पुनर्बिमा कम्पनीले भूकम्पपीडित परिवारका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतलाई मङ्गलबार २५ लाख रुपियाँको चेक हस्तान्तरण गरेको छ ।