तिहारमा ८० प्रतिशत स्थानीय माला प्रयोग, विदेशी माला आयतमा कमी
2023-11-08 16:30:20cri
Share with:

यस वर्षको तिहारमा नेपालमा ४० लाख थान फूलको माला खपत हुने अनुमान गरिएको छ। पुष्प व्यवसायीको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार नेपालमा मागको ८० प्रतिशत फूल भने नेपाली उत्पादनले नै धान्ने देखिएको छ। तिहारलाई फूलैफूलको चाडको रूपमा लिने भएकाले पनि यस पर्वमा फूलको महत्त्व रहेको छ । यस वर्ष अन्य वर्षको तुलनामा माला आयतमा कमी आएको छ । स्थानीय उत्पादनले धान्न थालेपछि आयतमा कमी आएको हो ।

 

एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङका अनुसार तिहार नजिकिएसँगै फूल टिप्न र फूलका माला उन्न किसानहरू लागिसकेका छन् । नेपाल विशेष गरी सयपत्री, मखमली, गोदावरी लगायतका फूलका मालामा लगभग आत्मनिर्भर रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तिहार आउन अब दुई हप्ता मात्र बाँकी रहँदा किसानहरू फूल टिप्न र माला उन्न व्यस्त छन् । यस पटकको तिहारमा करिब ४० लाख मालाको खपत हुने अनुमान रहेको छ ।” उहाँका अनुसार तिहारमा ३५ लाख सयपत्री, चार लाख ५० हजार थान मखमली, २० हजार थान गोदावरी र ३० हजार थान मिक्स माला खपत हुने अनुमान गरिएको गोरखापत्र अनलाइनले लेखेको छ ।

 

गत वर्षको भन्दा यस वर्ष मालाको खपत केही बढी हुने अनुमान रहेको उहाँले बताउनुभयो।  यस वर्ष तिहार पछाडि परेकाले फूलहरू चाँडै फुल्दा तिहारका लागि २० प्रतिशत फूलहरू बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यस वर्षको तिहार पछाडि परेकाले फूलहरू चाँडै नै फुलेकाले तिहारसम्म रहेनन् । त्यसैले २० प्रतिशत हाराहारीमा फूलहरू बाहिरबाट ल्याउनुपर्ने अवस्था छ ।”

यस वर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य ७५ र खुद्रा मूल्य १२५ देखि १५० रुपैयाँसम्म पर्ने देखिएको एसोसिएसनले जनाएको छ।

यस्तै, मखमलीको मालाको मूल्य थोकमा ४५ र खुद्रामा ६० देखि ७० रुपैयाँ पर्ने देखिएको छ । मिक्स माला होलसेलमा ३ सय र खुद्रामा ५ सय रुपैयाँसम्म पर्न जाने अध्यक्ष तामाङको भनाइ छ । यस्तै, गोदावरी फूलको मालामा भने एक हजार रुपैयाँबाट सुरु भएर ३ हजार रुपैयाँसम्म पर्ने एसोसिएसनको अनुमान छ । उहाँले भन्नुभयो,“किसानबाट फूल किनेर बिक्री गर्ने व्यवसायीहरूको ५० लाख माथिको कारोबारमा भ्याट लाग्ने भएकाले गत वर्षको तुलनामा माला केही महँगो पर्ने भएको छ ।”  अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि सरकारले प्लास्टिकका माला बेच्न प्रतिबन्ध लगाएको छ । जसका कारण नेपालमा उत्पादित भएको फूलको खपत पूर्ण रूपमा हुने उहाँको विश्वास छ ।

 

अपुग २० प्रतिशत फूलहरू भारतबाट आयात गर्नुपर्ने उहाँको भनाइ छ । अहिले पुष्प विकास केन्द्रले बाहिरबाट फूलको आयात प्रतिबन्ध लगाएको छ । तर, व्यवसायीहरूले पहिले नै आयातको स्वीकृति लिएर बसेका कारण फूलको अभाव नहुने उहाँको भनाइ छ ।

 

यसैबीच तिहारको समयमा नेपालबाट मखमली बाहिरी देशमा निर्यात समेत हुने गरेको अध्यक्ष तामाङको भनाइ छ ।

 

उहाँका अनुसार तिहारमा डेढ लाख थान मखमली माला बाहिरी देशमा निर्यात हुने गरेको छ । विदेशमा रहेका नेपालीहरूले तिहारमा मखमलीका मालाहरू लगाउन खोज्ने भएकाले सो मात्रामा विदेशमा निर्यात हुने उहाँको भनाइ छ।