शरद ऋतुको हिमाल आरोहणका लागि एक हजारले लिए अनुमति
2023-11-09 17:29:27cri
Share with:

शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार १८५ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार कात्तिक २२ गते सम्ममा स्वदेशी तथा विदेशी गरी ९४८ जना पुरुष र २३७ जना महिलाले आरोहण अनुमति लिएका हुन्।

विभागका निर्देशक राकेश गुरुङका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढी आमादब्लम आरोहणका लागि अनुमति लिने रहेका छन् । उहाँले भन्नुभयो, “आमादब्लम आरोहणका लागि ३३९ जना पुरुष र ७० जना महिला गरी ४०१ जनाले अनुमति लिएका छन् । अहिलेसम्म ७२ देशका आरोहीले विभिन्न ४९ हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।” त्यस्तै मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन् । आरोहण अनुमतिबाट छ करोड ९१ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ। उहाँले यस पटक विभिन्न छ मुलुकका २२ जनाले नेपालका हिमालबाट स्की गर्न अनुमति लिएको बताउनुभयो । स्कीका लागि सबैभन्दा बढी फ्रान्सका नागरिकले अनुमति लिएका छन् । उनीहरू हिमाल आरोहणपछि स्की गर्दै आधार शिविर ओर्लिने छन्।

स्कीका लागि फ्रान्सका १५ जना, फिनल्यान्डका एक जना, अमेरिकाका दुई जना, नेपालका तीन जना र नर्वेका एक जनाले विभागबाट अनुमति लिएका छन् । स्कीको अनुमति लिएकामध्ये फ्रान्सका तीन जना र फिनल्यान्डका एक जना महिला छन्। विभागले हिमलुङ, धवलागिरि, मनासलु, रत्नचुली, पुथा हिउँचुली, एभरेस्टलगायतका हिमालमा स्की अनुमति दिँदै आएको छ । विभागले तोकिएको हिमाल क्षेत्रमा स्की खेल्न फोहोरमैला व्यवस्थापनका लागि पाँच सय अमेरिकी डलर र स्कीका लागि १० जनासम्मको एक समूहले एक हजार अमेरिकी डलर रोयल्टी बुझाउनु पर्दछ, गोरखापत्र अनलाइनले लेखेको छ।