पुसभित्र मध्यभोटेकोशीबाट विद्युत् उत्पादन हुने
2023-11-09 17:28:23cri
Share with:

चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाले तीन महिनापछि उत्पादन गर्ने भएको छ । बाढीपहिरो, भूकम्प र कोभिडका कारण अन्योलमा परेको आयोजना लक्ष्यभन्दा झन्डै ६ वर्षपछि निर्माण पूरा हुन लागेको कान्तिपुर अनलाइनले लेखेको छ।

आयोजनाबाट उत्पादिन बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि आयोजनाले पहिलो वर्ष २ अर्ब ९० करोड आम्दानी गर्ने बताइएको छ । आगामी पुस मसान्तभित्र परीक्षण उत्पादन सुरु गरिने मध्येभोटेकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल शिवाकोटीले जनाउनुभयो । आयोजनाको सम्पूर्ण भौतिक र इलेक्ट्रोमेकानिकलको काम अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ ।

 

स्थानीय चाकुमा बाँध र बसेरीमा विद्युत्गृह निर्माण गरिएको आयोजनाको सुरुङको भित्री भागको ‘ग्राउटिङ’, ‘ट्रायल एन्ड इरर’ तथा ‘हाई एन्ड लो भोल्टेज टेस्टिङ’ भइरहेको छ । सुरुङमा एक महिनाभित्रै पानी पठाएर थप परीक्षण गरिने आयोजनाले जनाएको छ । भोटेकोशी गाउँपालिका–५ को चाकुमा बाँध बनाएर ७ किमि लम्बाइको सुरुङबाट बाह्रबिसे नगरपालिकाको जम्बुमा निर्माण गरिएको विद्युत्गृहमा पानी पठाएर विद्युत् उत्पादन गरिनेछ । आयोजनाको आम्दानीको निश्चित प्रतिशत आम्दानी प्रत्येक वर्ष बढ्दै जाने गरी प्राधिकरणसँग सम्झौता गरिएको बताइएको छ ।

 

आयोजनाबाट उत्पादित बिजुली प्रतिमेगावाट लागत बढीमा १९ देखि २० करोड पुग्ने अनुमान गरिएको शिवाकोटीको भनाइ छ । ०६८ सालमा अनुमान गरिएको लागत प्रतिमेगावाट साढे १२ देखि १३ करोड रुपैयाँ थियो । ०६८ कात्तिकमा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको कम्पनीले आयोजना सन् २०१३ मा निर्माण सुरु गरेर २०१७ मा पूरा गर्ने लक्ष्य राखेको थियो ।