नेपालको सयपत्री फूल हङकङमा
2023-11-10 16:40:36cri
Share with:

नेपालीहरूको महान् चाड तिहारलाई लक्षित गरी लगाइएको सयपत्री र मखमली फूल चितवनका किसानले हङकङ पठाएका छन्। कालिका नगरपालिका–२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाएको नागरिकन्यूज डटकमले लेखेको छ।  

 

तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरेको किसान गोविन्द बास्तोलाले जानकारी दिनुभयो। ‘हामीले आठ सय सयपत्री र पाँच सय मखमली फूलका माला पठाएका छौँ। खुद्रा सयपत्री फूल दुई क्विन्टल निर्यात गरेका छौँ,’ बास्तोलाले भन्नुभयो ‘चितवनबाट व्यावसायिक रूपमा फूल विदेश निर्यात भएको पहिलो पटक हो।’ उहाँका अनुसार तीन लाख रुपैयाँ बराबरको माला निर्यात भएको छ। उहाँले अन्य देशबाट पनि फूलको माग आएको बताउनुभयो।

‘अहिले हङकङ निर्यात गरेका छौँ’ उनले भने ‘बिस्तारै अन्य देशमा पनि निर्यात गर्छौ।’ विगतका वर्षमा ४१ जिल्लामा सयपत्री फूल बिक्री गर्दै आएकोमा हाल विदेशमा पठाएको किसान अमित बास्तोलाले बताउनुभयो।

नेपालमा सयपत्री फूलको खपत नभएर उनीहरूले विदेश निर्यात गरेका हैनन्। सरकारले फूल खेती प्रवर्द्धनका लागि दबाब दिन विदेश पठाउन लागिएको उहाँले बताउनुभयो। तीन भाइले तिहार लक्षित सयपत्री फुल तीन बिघामा खेती गरेका छन्। बाह्र हजार माला र आठ क्विन्टल खुद्रा फूल उत्पादन हुने उनीहरूको अनुमान छ। यसबाट १५ लाख आम्दानी हुने र अन्य बालीभन्दा फूल खेतीबाट राम्रो आम्दानी हुने उनीहरुको ठहर छ।

सयपत्रीका दुई जात टेनिस बल र कलकट्टे फूल हङकङ निर्यात गरिएको छ। उहाँका अनुसार कालिका नगरपालिकामा नौ बिगाहा क्षेत्रफलमा फूल खेती गरिएको छ। चितवनमा ५० बिघामा फूल खेती भएको छ। चितवनमा तिहारका लागि फूल खेती गर्ने किसान करिब १०० जनाको हाराहारीमा छन्।