जलविद्युत्‌मा लगानी गर्न एसियाली बैंकलाई आग्रह
2023-11-10 16:37:56cri
Share with:

एसियाली बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई नेपालमा जलविद्युत्लगायत क्षेत्रमा लगानी गर्न अर्थमन्त्री प्रकाशशरण महतले आग्रह गर्नुभएको छ। सरकारले जलविद्युत्, साना तथा घरेलु उद्योग, कृषि, पर्यटनलगायत क्षेत्रको लगानी विस्तारलाई प्राथमिकतामा राखेकाले ती क्षेत्रमा लगानी गर्ने लगानीकर्तालाई सरकारले पूर्ण रूपमा सहयोग गर्ने उहाँको भनाइ छ ।

 

नेपाल बैंकर्स संघले काठमाडौंमा आयोजना गरेको एसियन बैंकर्स एसोसिएसनको ३९औं ‘जनरल मिटिङ एन्ड कन्फ्रेन्समा’ बिहीबार अर्थमन्त्री महतले जलविद्युत्, साना उद्योग, कृषि, पयर्टनलगायत क्षेत्रमा लगानी बढाउने उद्देश्यले सरकारले नीतिगत व्यवस्था गरिरहेकाले ती क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त हुने जनाउनुभयो। शुक्रबारसम्म चल्ने सम्मेलनमा १८ देशका ६३ जना बैंकरको सहभागिता रहेको कान्तिपुर अनलाइनले जनाएको छ ।

 

पछिल्ला वर्षमा नेपालमा जलविद्युत्लगायत क्षेत्रमा विदेशी लगानी बढिरहेको उहाँको भनाइ छ । ‘विश्व बैंक, एडीबीलगायत दातृ निकायले पनि नेपालको जलविद्युत् आयोजनामा ठूलो लगानी गर्ने प्रतिबद्धता देखाएका छन्,’ अर्थमन्त्री महतले भन्नुभयो। केही महिनाअघि मात्र भारतले १० वर्षमा १० हजार मेगावट जलविद्युत् खरिद गर्ने प्रतिबद्धता जनाएकाले आफूहरूलाई विद्युत् उत्पादनमा प्रोत्साहन मिलेको उहाँले बताउनुभयो।

कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठूलो चुनौती भोगिरहेको र विदेशी वित्तीय संस्थाले नेपालमा लगानी गर्दा थप प्रभावकारी भएको हुने अर्थमन्त्री महतको भनाइ छ ।

अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको अर्थमन्त्री महतले बताउनुभयो।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंक दक्षिण एसियाकै उत्कृष्ट रहेको दाबी गर्नुभयो। ०७२ सालको विनाशकारी भूकम्प र विश्वव्यापी रूपमा फैलिएको कोभिड संक्रमणका बेला पनि वित्तीय क्षेत्र नडगमगाई स्थिर रहेको उहाँको भनाइ छ । संक्रमणका कारण उद्योग व्यवसाय प्रभावित भएको समयमा पनि राष्ट्र बैंकको नीति र बैंकिङ क्षेत्रको सक्रियताकै कारण अर्थतन्त्र छिट्टै लयमा फर्किएको उहाँको भनाइ छ ।

 

‘सन् २००८ मा विश्व अर्थतन्त्रमा देखिएको संकट असर, कोभिड, रुस–युक्रेन युद्धजस्ता दुई ठूला अन्तर्राष्ट्रिय समस्या र नेपालमा पटक–पटक आएको भूकम्पले पारेको असरसमेत सामना गर्दै नेपाली अर्थतन्त्र स्थिर रहन सकेको छ,’ उहाँले भन्नुभयो, ‘कोभिड महामारीले बैंकिङ क्षेत्रलगायत उद्योग व्यवसायमा परेको प्रभावले केही व्यवसाय बन्द हुँदासमेत बैंकिङ क्षेत्रको सहयोग र राष्ट्र बैंकको नीतिका कारण अर्थतन्त्रमा लयमा आउन सफल भएको छ ।’

 

एसियन बैंकर्स एसोसिएसन (एबीए) का अध्यक्ष युजेन एस एसेभेडोले पनि नेपाली वित्तीय क्षेत्र सबै पक्षबाट सबल र सक्षम रहेको बताउनुभयो । यद्यपि बजारमा माग पक्षबाट भन्दा पनि आपूर्ति पक्षमा अवरोध सिर्जना भएकाले बजारमा महँगी बढेको र त्यसले ब्याजदर पनि बढाएको उहाँको भनाइ छ ।

 

पछिल्ला वर्षमा नेपालका बैंकहरूमा खराब कर्जा बढे पनि अन्तर्राष्ट्रिय जगत्सँग तुलना गर्दा अझै निकै कम रहेको उहाँले बताउनुभयो। ‘अर्थतन्त्रमा शिथिलता आएपछि ऋणीको भुक्तानी क्षमता घटिरहेको छ, यही कारण खराब कर्जा केही बढेको हुन सक्छ,’ उहाँले भन्नुभयो, ‘तर अहिलेको खराब कर्जा धेरै होइन ।’