नेपाल टेलिकमले १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउने घोषणा
2023-11-11 16:30:10cri
Share with:

नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउने घोषणा गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले चालु आर्थिक वर्षको कार्यक्रममा नमूना जिल्ला कार्यक्रम तय गरेको थियो।जसअनुसार शुक्रबार टेलिकमले नमूना सेवा दिने जिल्लाको सूची सार्वजनिक गरेको हो।प्रदेश राजधानी रहेका जिल्लासहित हरेक प्रदेशबाट कम्तीमा दुई जिल्ला समेटिने गरी नमूना जिल्ला कायम गर्ने घोषणा नेपाल टेलिकमले गरेको छ।

भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित खोटाङ, मोरङ, उदयपुर, धनुषा, रौतहट, मकवानपुर, सिन्धुली, कास्की, गोरखा, दाङ, गुल्मी, सुर्खेत, जुम्ला, कैलाली, बाजुरा, बर्दिया र रोल्पा रहेको नागरिकन्यूज डटकमले जनाएको छ।

 

टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवा मागबमोजिम उपलब्ध गराई नमूना जिल्ला कायम गर्न थालेको टेलिकमले जनाएको छ।प्रवक्ता शोभन अधिकारीद्वारा जारी विज्ञप्तिमा ती जिल्लाका सबै वस्ती, राजमार्ग, पर्यटकीय तथा धार्मिक स्थलमा गुणस्तरीय दूरसञ्चार सेवा प्राविधिकरुपमा सम्भव भएसम्म उपलब्ध गराउने उल्लेख छ।

हाल सेवाका दृष्टिबाट नमूनाको रुपमा कायम गरिने जिल्लामा आवश्यकता बमोजिम तत्काल थप पूर्वाधार तथा उपकरण विस्तार स्ट्यान्डर्ड सेट्स तथा सेवाहरु कायम हुनेगरी नेटवर्क स्थापित गरिने टेलिकमले जनाएको छ।यी जिल्लामा निरन्तर गुणस्तरीय सेवा उपलब्धताका लागि प्राविधिक तथा भौगोलिक दृष्टिकोणले सम्भव भएसम्म नवीन प्रविधि र नेटवर्क पूर्वाधार तय गरिने विज्ञप्तिमा उल्लेख छ। जिल्लामा औसत ९० प्रतिशतभन्दा बढी मानववस्तीमा गुणस्तरीय मोबाइलका साथै एनटी फाइवर सेवा दिने टेलिकमले जनाएको छ।