महिनामै १ खर्ब ३७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति साढे १६ खर्ब
2023-11-11 16:36:26cri
Share with:

केही महिनायता रेमिट्यान्स आप्रवाहमा वृद्धि भएसँगै अर्थतन्त्रका बाह्य सूचक झनै बलियो बन्दै गएको र आन्तरिक अर्थतन्त्रमा पनि सुधारको संकेत देखिएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत असोजको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले रेमिट्यान्स आप्रवाह ३० प्रतिशतले बढेपछि शोधनान्तर बचत, विदेशी मुद्रा सञ्चिति र चालु खाता पनि थप बलियो अवस्थामा पुगेको प्रतिवेदनले औंल्याएको छ ।

 

पछिल्ला तथ्यांकले मुलुकको बाह्य क्षेत्र झनै सबल भएको र आन्तरिक अर्थतन्त्रमा पनि सुधार आइरहेको देखाएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताउनुभयो। ‘बाह्य क्षेत्र दरिलो भएको छ,’ उहाँले भन्नुभयो, ‘कर्जा प्रवाह र आयात बढेको छ, आधार दर घटेको छ, राजस्व संकलन पनि ५ प्रतिशतले बढेको छ, यी सूचकले आन्तरिक अर्थतन्त्रमा सुधारको क्रममा रहेको देखाउँछ ।’

 

चालु आर्थिक वर्षको असोज महिनामा मात्रै १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । मासिक रूपमा हेर्दा यो हालसम्मकै उच्च हो । यसअघि गत साउनमा १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज) मा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । कात्तिकमा चाडपर्व परेका हुँदा असोजमै ठूलो परिमाणमा रेमिट्यान्स भित्रिएको हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्ष साउनमा ९२ अर्ब २१ करोड, भदौमा ९४ अर्ब ८३ करोड र असोजमा ९४ अर्ब १ करोड रुपैयाँ भित्रिएको थियो ।

‘अमेरिकी डलरमा भने यो साउन, भदौ र असोजमा २ अर्ब ७६ करोड रेमिट्यान्स भित्रिएको छ, जुन गत वर्षको समीक्षा अवधिको तुलनामा २५.९ प्रतिशत बढी हो,’ प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।’ समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १३ हजार ३ सय ९७ कायम भएको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४९ हजार २ सय ९७ कायम भएको छ ।

 

कान्तिपुर अनलाइनका अनुसार असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ७.५० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ८.५० प्रतिशत थियो । गत असोजमा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.८१ प्रतिशत छ । उक्त अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३७.६३, चिनी तथा चिनीजन्य वस्तुको १८.२२, फलफूलको १४.०२, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३, दुग्ध पदार्थ तथा अन्डाको ११.९२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

 

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १०.२३, तराईको ५.६६, पहाडको ७.३८ र हिमालको १०.२४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । ०७९ असोज मा यी क्षेत्रको मुद्रास्फीति क्रमशः ६.९३, ९.४२, ८.८४ र ७.०७ प्रतिशत थियो ।

 

यसैबीच गत असोजमा मुलुकको विदेशी मुद्रा सञ्चिति १६ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । गत असारमा यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो । तीन महिनामा कुल विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा असोज मसान्तमा ५.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ३३ करोड पुगेको छ ।