काठमाडौँको रत्नपार्कमा ‘काग सम्मेलन’
2023-11-11 16:42:14cri
Share with:

काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा २० औँ ‘काग सम्मेलन’गरिएको छ। यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नापार्कस्थित शान्तिवाटिकामा बिहान काग बोलाएर २० औँ काग सम्मेलन गरिएको हो।

सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पार्नुभएको थियो।

 

दुलालले कागको स्वर निकालेर बोलाएपछि कागहरु आवाज भएको ठाउँसम्म आइपुगेका थिए। दुलालले विगत १९ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आउनुभएको छ।

 

काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ। काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ।

 

काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले यस वर्ष कागहरु धेरै नआएको बताउनुभयो। ‘अहिले काग लोप हुँदै गइरहेको छ, त्यस कारणले पनि सोचेको जति संख्यामा आएनन्। २० औं काग सम्मेलन राम्रै रह्यो। काठमाडौंमा गरेको १३ वर्ष भयो। कागसँग घनिष्ठ सम्बन्ध छ।’ उहाँले भन्नुभयो।

 

कलाकार दुलालले काग सम्मेलनको अवसरमा कागको शुभ संकेत दिँदाको स्वर र अशुभ संकते दिँदाको स्वर निकालेर सुनाएको नागरिकन्यूज डटकमले जनाएको छ।