पोखराको चाइना पुल अब ६ लेनको बनेर देशकै नमूना हुने
2023-11-12 16:52:17cri
Share with:

निर्माणको करिब ५० वर्षपछि चाइना पुलको रुप र परिचय फेरिने भएको छ। नेपालकै नमूना, सिग्नेचर पुलका रुपमा यसको दाँया/बाँया अरु २/२ लेनका पुल बन्ने भएको छ। चीन सरकारले पोखरा–काठमाडौँ जोड्न पृथ्वीराजमार्गको सेती नदीमा निर्माण गरिदिएको पुलले थेग्नै नसक्ने गरी जिर्ण बनेपछि पुननिर्माण गर्न लागिएको अनलाइन खबरले लेखेको छ।

२०३१ सालमा पृथ्वी राजमार्ग निर्माण गरेपछि यो पुल चीनले नै बनाइदिएका कारण यसको नाम पनि चाइना पुल रहेको हो। २०५३ सालमा पुलको छेउमा धाँजा फाटेर जमिन भासिएपछि मर्मत गरेर २०५५ सालमा पुनः सञ्चालनमा ल्याइएको थियो।

१९० मिटर लम्बाइ भएको दुईवटा पुल नेपालमै नौलो र आकर्षक हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा बताउनुहुन्छ। यो पुल निर्माण सम्पन्न गर्न १ अर्ब ७ करोड २४ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

सडक विभागका सिनियर डिभिजनल इन्जिनियर राजेशप्रसाद पौडेलका अनुसार बीचमा पिलर र स्ल्याब हाल्न नमिल्ने भएकाले पुलमा १४/१४ मिटर अग्ला ४ वटा टावर राखिनेछ। टावरबाट केवुल बाँधेर पुल झुड्याएजस्तो देखिनेछ।

पोखरा महानगरपालिका–९ र १० जोड्ने गरी सेती नदीमा बन्न लागेको पुलको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गर्नु भएको छ। त्यस क्रममा मन्त्री ज्वालाले पोखरा प्रवेश गर्ने सुन्दर गेटको रुपमा यो पुललाई विकास गरिने बताउनुभयो। ‘पोखराको कोर सिटीमा प्रवेश गर्ने एउटा सुन्दर गेटको रुपमा मान्छेहरुले यो पुल पार गर्नेछन्’, मन्त्री ज्वालाले भन्नुभयो, ‘पोखरा–काठमाडौँ जोड्ने यो पुलले आर्थिक विकासका निम्ति पनि ब्याक बोनका रुपमा काम गर्नेछ।’

पुल शिलान्यासका बेला गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रेशम जुग्जालीले मुग्लिन–पोखरा सडक विस्तारको काम निकै सुस्त भएको भन्दै मन्त्री ज्वालाको ध्यानाकर्षण गराउनु भएको थियो। जवाफमा मन्त्री ज्वालाले मन्त्री ज्वालाले पश्चिम खण्ड निर्माण निकै सुस्त रहेकाले छलफल गरेर समाधान खोजिने बताउनुभयो।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पुल निर्माणमा अवरोध हुन नदिने निर्माण कम्पनीलाई आश्वासन दिनुभयो। ठेक्का सम्झौता अनुसार रसुवा कन्स्ट्रक्सनले यो पुल २०८२ भदौ २१ गतेभित्र निर्माण सक्नुपर्नेछ।

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पुल निर्माणसँगै सेती नदी संरक्षणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो। भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले चाइना पुलमा भविष्यमा ‘सेल्फी पुल’ बन्न सक्ने बताउनुभयो।

मन्त्री ज्वालाले चाइना पुलको विकल्पका रुपमा हेरिएको मितेरी पुल पनि निर्माण गरिने बताउनु भएको छ। पोखराको पुरानो र नयाँ विमानस्थल जोड्ने यो पुलले स्थानीय, प्रदेश र संघीय सरकारलाई मितेरी साइनो जोड्ने काम पनि गर्ने उहाँको भनाइ छ।