पोखरा नियमित उडानका लागि प्राविधिक टोली पठाउने चीनको प्रतिबद्धता
2023-11-13 15:59:30cri
Share with:

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आर्थिक सहयोग गरेको चीनले अब आफ्ना सहरदेखि नियमित अन्तर्राष्ट्रिय उडानका लागि समेत पहल गरेको छ । चीनका विभिन्न सहरदेखि पोखरासम्मको उडानका लागि अध्ययन गर्न चीन सरकारले प्राविधिक टोली पठाउने प्रतिबद्धता जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।

नेपालको ५ दिने भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) तिब्बतका सचिव वाङ चुनचङले शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसँग पोखरामा भएको भेटवार्तामा चीनले पोखरा विमानस्थलमा चीनदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा ल्याउन चिनियाँ प्राविधिक टोली पठाउने बताउनु भएको हो।

विमानस्थल निर्माणमा सहयोग गरेपछि गण्डकी प्रदेशमा चीनको सक्रियता बढिरहँदा चीन–पोखरा नियमित सिधा उडानले प्रदेश र चीन दुवै पक्षलाई लाभ हुने गण्डकी प्रदेश मुख्यमन्त्री पाण्डेले बताउनुभयो। बैठकमा सहभागी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्ण देवकोटाका अनुसार मुख्यमन्त्री पाण्डेले हवाई सेवामा पोखरा विमानस्थलमा चीनका तीन सहरबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि अनुरोध गरेका थिए ।

पाण्डेले तिब्बतको ल्हासा, छेन्दु र गोन्जाउबाट पोखरामा उडान भए राम्रो हुने बताउनु भएको थियो। जवाफमा सीपीसी तिब्बतका सचिव वाङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाई सेवा गर्न चिनियाँ पक्ष सकारात्मक रहेको र त्यसको लागि आवश्यक अध्ययन गर्न प्राविधिक टोली पठाउने बताउनु भएको हो। उद्घाटनकै दिन चिनियाँ राजदूतले उक्त विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत रहेको बताएपछि विवाद सिर्जना भएको थियो ।

सन् २०१६ मा चीनको एक्जिम बैंकबाट २१५.९६५ मिलियन अमेरिकी डलर ऋण लिएर निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको २०७९ पुस १७ मा उद्घाटन गरिएको थियो । उद्घाटन भए पनि नियमित रूपमा अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । चीनले १.७५ देखि २ प्रतिशतसम्म ब्याज तिर्ने गरी ऋण दिएको थियो । ऋण सम्झौताअनुसार सात वर्षसम्म साँवा–ब्याज तिर्नुपर्दैन । तर त्यसपछि २० वर्षमा सबै रकम भुक्तानी गरिसक्नुपर्नेछ ।

आफूले अन्तर्राष्ट्रिय रूपमा बनाइदिएका पूर्वाधारमाथि प्रश्नहरू उठिरहेपछि चीनले थप सक्रियता देखाउन थालेको छ । त्यसैलाई मध्यनजर गरेर सीपीसी तिब्बतका सचिव वाङले चीनका तर्फबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनदेखि सिधा उडानका लागि चिनियाँ प्राविधिक टोली पठाउने प्रतिबद्धता व्यक्त गर्नु भएको हो।

मुख्यमन्त्रीको कार्यालय पोखरामा भएको भेटवार्तामा मुख्यमन्त्री पाण्डे, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्ण देवकोटा, प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, ल्हासाका लागि नेपालका वाणिज्यदूत नवराज ढकाल र मुख्यमन्त्री कार्यालयका सचिव विनोद कुँवर सहभागी हुनुहुन्थ्यो । चिनियाँ टोलीमा वाङसहित नेपालका लागि चिनियाँ राजदूत छन सोङसहित अन्य अधिकारीहरू सामेल हुनुहुन्थ्यो ।

२०७९ पुस १७ मा उद्घाटन गरेको उक्त विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान भने ६ महिनापछि गत असार ६ मा भएको थियो । त्यतिबेला चीनको सिचुवानबाट पोखरामा आयोजना गरिएको ड्रागन बोट रेस फेस्टिभलमा सहभागिता जनाउन चिनियाँ सहभागीहरू चीनदेखि चार्टर्ड विमानमा आएका थिए । त्यसपछि भदौ २३ मा भुटानको विमान ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान गरेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो अन्तर्राष्ट्रिय उडानका रूपमा ड्रुक एयर अवतरण भएको हो । नेपालको पश्चिमी क्षेत्रमा गएको भूकम्पपीडितहरूलाई राहत र उद्धारको सामग्री लिएर चीनबाट यही कात्तिक २२ मा दुई वाई–२० विमानमा ५० टन उद्धार सामग्री लिएर छेन्दुबाट नेपाल आएको थियो । उक्त चार्टर्ड विमान चिनियाँ जनमुक्ति सेना (पीएलए) को थियो । स्रोतका अनुसार नेपाल सरकारले पीएलएलाई उक्त विमानस्थलभन्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं वा सम्भव भए नेपालगन्ज विमानस्थलमा अवतरणका लागि आग्रह गरेको थियो । किनकि ती दुई क्षेत्रबाट जाजरकोट र रुकुममा सामग्री लानका लागि सहज हुन्थ्यो । तर चीनले भने आफैंले बनाइदिएको विमानस्थलमा राहत सामग्रीसहितको विमान अवतरण गराएको हो ।

विमानस्थललाई सञ्चालनका लागि गण्डकी प्रदेशको कोरोला नाकालाई कात्तिक २७ बाट खुला गर्ने पनि सहमति भएको छ । विगत ३ वर्षदेखि उक्त नाका बन्द थियो । ‘कोरोना नाकाको नेपालतर्फ अस्थायी संरचनाहरू छन् । स्थायी संरचना निर्माण गर्न चीनले सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरेको हो,’ आयोगका उपाध्यक्ष देवकोटाले भन्नुभयो, ‘हाम्रो प्रदेशमा आवश्यक भौतिक पूर्वाधार संरचना निर्माणका लागि चीनले सहयोग गर्ने र त्यसका लागि नेपालले संघीय सरकारमार्फत चीनलाई आग्रहचाहिँ गर्नुपर्ने कुरा भेटवार्तामा भएको थियो ।’

पोखरामा पर्यटक भित्र्याउने सम्बन्धमा पनि चीनले सहयोग गर्ने विषयमा छलफल भएको थियो । मुख्यमन्त्री पाण्डेले मुग्लिन–पोखरा चिनियाँ ठेकेदारले बनाइरहेको र काममा भइरहेको ढिलाइको सम्बन्धमा पनि चिनियाँ पक्षलाई जानकारी गराउनु भएको थियो। त्यसमा पनि चिनियाँ पक्षले आफ्नोतर्फबाट आवश्यक पहल गर्ने उल्लेख गर्नुभयो।

सीपीसी तिब्बत सचिव वाङले आफ्नो नेपाल भ्रमणलाई नेपाल–चीनबीचको सहमति र सम्झौतालाई कार्यान्वयनमा जोड दिन पनि आग्रह गर्नुभयो । उहाँले नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतलाई भेट्नुभयो । त्यस अवसरमा दुईपक्षीय मुलुकबीच भएका सहमति र सम्झौता कार्यान्वयनलाई जोड दिएका हुन् ।