हुम्लाबाट अल्लोको लोक्ता र धागो निकासी
2023-11-13 16:01:39cri
Share with:

नेपालको हिमाली जिल्ला हुम्लाबाट पहिलो पटक अल्लोको लोक्ता र धागो निकासी गर्न उद्यमी सफल हुनुभएको छ। त्यसै खेर गएको अल्लोलाई प्रशोधन गरेर अदानचुली गाउँपालिका–४ को मण्डाल्नी अल्लो कपडा उद्योगले ती सामग्री निकासी गर्न सफल भएर आर्थिक उपार्जनसमेत गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

उद्योगकी सञ्चालन प्याउरा जैसीले पहिलो पटक नौ लाख मूल्यको अल्लोको लोक्ता र धागो प्रशोधन गरेर सुर्खेत निकासी गर्न सफल भएको बताउनुभयो। उहाँले वनमा खेर गएको अल्लो सङ्कलन गरेर गाउँमै स्थापना भएको प्रशोधन उद्योगबाट धागो निकाल्ने र सुर्खेतमा निकासी गर्ने गरिएको बताउनुभयो। 

उद्यमीलाई उद्योग स्थापना गरिएको स्थान राष्ट्रिय सडक सञ्जालसँग जोडिएका कारण यसरी दुर्गममा उत्पादन हुने अल्लोको कच्चा पदार्थ जिल्लाबाहिर निकासी गर्न सफलता मिलेको हो। उहाँले धागो प्रतिकेजी छ सय रुपियाँ र लोक्ता प्रतिकेजी २५० रुपियाँ बिक्री गर्ने गरिएको बताउनुभयो।

 स्थानीयले सुर्खेतमा स्थापना गर्नुभएको अदानचुली अल्लो ढाका कपडा उद्योगलाई जैसीले लोक्ता र धागो पठाउने गरेको बताउनुभयो। उद्योगले यस वर्ष एक हजार केजी धागो र एक हजार दुई सय केजी लोक्ता बिक्री गरेको हो। 

कपडा उद्योगले सुर्खेतमा ढुवानी भएर आएको धागो र लोक्ताबाट कपडा बुनेर काठमाडौँलगायतका सहरमा पठाउने गरेको छ। दुवै उद्योगमा गरी पाँच जनालाई रोजगारीसमेत प्रदान गरिएको छ। अल्लो सङ्कलन गरेर किसानले उद्योगलाई बिक्री गर्दै आउनुभएको छ।