सामूहिक फूलखेतीमा रम्दै महिला
2023-11-13 16:02:56cri
Share with:

तिहारमा सयपत्री र मखमली फूलको माला बजारमा पुर्‍याउन कतिपय किसानले व्यावसायिक रुपमा त कतिपय समूह, विद्यालय, क्याम्पसलगायतले सामूहिक रुपमा फूलखेती गरिरहेका छन्। थोरै खर्चमा मनग्य आम्दानी गर्न सकिने यो फूलखेतीतर्फ किसानको आकर्षण पनि बढ्दै गएको कारोबार अनलाइनले लेखेको छ।

चितवन घर भान्साको काम हुँदा घर भान्सामा नत्र गफिए बस्ने भरतपुर महानगरपालिका–८ पाण्डे घुम्ती आसपासकाका महिला आजभोली नयाँ योजना बनाइरहेका भेटिन्छन्। चुलो चौकोमा सीमित रहने महिला आफैंले २०६६ सालमा स्थापना गरेको बिसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध हुँदै आत्मनिर्भर कार्यक्रम सुरु गरेका छन्।

जसका कारण महिलामा व्यावहारिक र व्यावसायीक फूलखेती उन्मुख बन्दै आत्मनिर्भरसमेत देखिएका छन्। महिलाको इच्छाशक्ति सामूहिक सहकार्यले उद्यमी बन्न उनीहरको ध्यान तानेको छ। कामकाजी महिलाबाट पनि केही गर्न सकिन्छ भनेर सक्रिय बनेका बिसहजारी सामाजिक उद्यमी महिला सहकारीको कृषि उद्यमी महिला समूह बनाउँदै अगाडि बढेका महिलाले कृषिका क्षेत्रमा मनग्गै ज्ञान हासिलमात्रै गरेका छैनन् उद्यमीसमेत बनेका छन्।

कृषि प्रयोजन, फलफूलखेती तथा अन्नबाली लगाउने भनेरै उद्यमी महिला समूह बनाएका उनीहरूले पहिलो वर्ष सयपत्री फूल लगाएर निकै राम्रो आम्दानी गर्नेमा आशावादी देखिएका छन्। अझ त सरकाले भारतबाट सयपत्री फूलको माला आयात रोकेपछि झनै हौसिएका छन्। तिहार नजिकिएसँगै उनीहरुको चटारो बढेको छ। ‘तिहारमा सयपत्री फूल टाढाबाट आउन नसक्ने र यहाँ माग बढ्ने अध्ययन पछि सुरु भएको सयपत्री फूल खेतीले उनीहरूलाई अझै राम्रो आकर्षक कृषिकर्म गर्न उत्साहित देखिएका छौं,’ अध्यक्ष शैलजा घिमिरे पौडेलले भन्नुभयो, ‘यो वर्षदेखि सामूहिक फूलखेती गरेका छौं।’

गत वर्ष फूल अभावको मारमा परेका महिलाले सामूहिक रूपमा भाडामा लिएको एक बिघा जमिनमा लगाइएको फूल स्याहारमा पालैपालो खटिन्छन्। कोही महिला तयार भएका फूल टिप्न र तिहारलाई होस् भनी चिसियान केन्द्रमा पुर्‍याउन व्यस्त हुन्छन्। कोही माला बनाउन र माग भएका ठाउँमा पुर्‍याउन खटिएका छन्। ‘आयातित माला विस्थापित गर्ने योजना छ,’ अध्यक्ष पौडेलले भन्नुभयो, ‘यसैले आसपासको बजारमा समेत स्वदेशी माला पुर्‍याउन खटेका छौं। आफूलाई पनि भयो।’ फूल खेतीले महिलालाई व्यावसायिक बनाउन र बाँझो जमिन उपयोगमा ल्याउन सहज भएको उहाँले बताउनुभयो।

फूल बेच्नका लागि तयार भए पनि बजार नपाउँदा अन्योल भएको उहाँले बताउनुभयो। यहाँ फूलखेती विभिन्न ज्ञान सीप र परामर्श आवश्यक रहेको उहाँको भनाइ थियो। भरतपुर महानगर–८ स्थित पाण्डे घुम्तीमा रहेको यस सहकारीकी अध्यक्ष पौडेलले गत वर्ष फूलको अभाव भएपछि यसपटक समूहका दिदीबहिनीलाई आत्मनिर्भर बनाउन सयपत्री फूलखेती गरेको बताउनुभयो। ‘समूहका दिदीबहिनीलाई आवश्यक पर्ने बाहेकका फूल बेच्ने योजना छ तर कहाँ लगेर बेच्ने, कति मूल्यमा बेच्ने भन्ने अझै अन्योलमा छौं,’ अध्यक्ष पौडेलले भन्नुभयो।

उहाँहरु मात्र होइन् भरतपुर महानगरपालिका २१ पार्वतीपुरका महिला पनि फूल खेतीमा आत्मनिर्भर देखिएका छन्। झण्डै पाँच कठ्ठामा सुरु गरिएको उक्त फूल खेती सातजना महिला मिलेर सुरु गरेका हुन्। प्रतिव्यक्ति १० हजारका दरले सयपत्री फूल खेतीको लगानी गरेका उनीहरू आर्थिक रुपले समेत राम्रो उत्पादन लिने विश्वास गरेका छन्। तिहार लक्षित सयपत्री फूलखेती गरेका उनीहरूले समयभन्दा पहिले नै फूल फूलेकोले कोल्ड स्टोरमा राख्न थालिएको बताएका छन्।