नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मनाउन संकीर्णता गर्नु नहुने नेपालका प्रधानमन्त्रीको भनाइ
2023-11-14 16:52:13cri
Share with:

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मनाउन संकीर्णता गर्नु नहुने बताउनुभएको छ।

मङ्गलबार काठमाडौंको वसन्तपुरमा आयोजित नेपाल संवत् ११४४ को कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधामन्त्री प्रचण्डले यस्तो बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

उहाँले नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा मान्यता दिलाउनको निम्ति नेवार समुदायले गरेको काम साह्रानिय रहेको बताउनु भयो। उहाँले नेपाल संवत् राष्ट्रिय संवत् भएकाले सबै मिलेर मनानुपर्ने धारणा औंल्याउनुभयो।

प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्लाई राष्ट्रिय संवत् भनेर मात्रै नपुग्ने भन्दै सबै सरकारी दस्ताबेजहरुमा उल्लेख गर्न अनिवार्य गरिएको जानकारी दिनुभयो।

‘‘नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा मान्यता दिलाउनको निम्ति नेवार समुदायले गरेको कामलाई उच्च सम्मान गर्दछु। आम नेपाली जनतालाई जुनसुकै समुदायको भए पनि नेपाल संवत् हामी सबैको साझा संवत् हो। राष्ट्रिय संवत् हो।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘ त्यसकारण यसलाई मनाउने कुरामा कुनै खालको संकीर्णता हामी कसैले देखाउनु हुँदैन। तपाईहरुले निरन्तर उठाएको आवाजका आधारमा नेपाल संवत् राष्ट्रिय संवत्को रुपमा घोषणा गरेँ। नेपाल संवत्लाई राष्ट्रिय संवत् भनेर मात्रै पुग्दैन, कार्यान्वयन गर्नुपर्छ भनेर निर्णय गरेको छु। नेपाल संवत्लाई सबै सरकारी दस्ताबेजहरुमा उल्लेख गर्न अनिवार्य गर्न गरिएको निर्णय हो।’’ प्रधानमन्त्री प्रचण्डले देशको मौलिकता र संस्कृतिलाई अघि बढाउँदै लैजानुपर्ने बताउनु भयो।