जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई चिसोबाट जोगिन सास्ती
2023-11-14 16:53:53cri
Share with:

१७ कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि जाजरकोट र रुकुम पश्चिमका अधिकांश नागरिक घरबाहिर छन् । भूकम्पले घर भत्काएपछि पालको सहारामा बसिरहेका भूकम्प प्रभावितलाई चिसोले समस्या बनाउन थालेको छ । राम्ररी राहतसमेत पाउन नसकेका भूकम्प प्रभावितलाई चिसोबाट बच्न मुस्किल बन्दै गएको छ । बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती र दीर्घरोगीलाई समस्या भएको छ । जाजरकोटमा भूकम्पछि चाजनाको मृत्यु भएको छ । दीर्घरोगबाट ग्रसित नलगाड नगरपालिका र कुशे गाउँपालिकामा दुई–दुईजनाको मृत्यु भएको नयाँ पत्रिका अनलाइनले लेखेको छ। उनीहरूको चिसोकै कारण ज्यान गएको हुनसक्ने जिल्ला अस्पताल जाजरकोटका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो। पालिकहरूसँग समन्वय भइरहेको उहाँले बताउनुभयो । जिल्लामा चिसोबाट ठूलो समस्या हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै हाई अलर्टमा रहेको उहाँले बताउनुभयो । ‘चिसो बढ्दै छ, विशेष गरी बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा र दीर्घरोगी उच्च जोखिममा छन्, हामी तिहारमा पनि बिदा नबसेर सचेतता बढाइरहेका छौँ, पालिकाहरूसँग निरन्तर छलफल चलाइरहेका छौँ, छिट्टै समन्वय बैठक गर्ने योजनामा छौँ, समग्रमा हामी हाई हलर्टमा छौँ,’ उहाँले भन्नुभयो ।’ 

नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले वडा नम्बर ४ का ७७ वर्षीय गोपाल रावल र ४० वर्षीया पम्फा रावलको मृत्यु भएको जानकारी रहेको बताउनुभयो। ‘उहाँहरू दमको रोगी हो भन्ने सुनेको छु, बाँकी विषयमा बुझ्ने काम भइरहेको छ,’ उहाँले भन्नुभयो । कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले आफ्नो गाउँपालिकामा दुईजनाको मृत्यु भएको पुष्टि गर्नुभयो। ‘वडा नम्बर ५ मा ६५ वर्षकी देवी मल्ल र वडा नम्बर ६ मा ५५ वर्षका गथु शाहीको मृत्यु भएको छ,’ उहाँले भन्नुभयो । उनीहरू केही दिनदेखि रुघाखोकी र ज्वरोबाट ग्रसित भएको र भूकम्पका कारण घरबाहिर बस्नुपर्दा ज्यान गएको हुन सक्ने अध्यक्ष बस्नेतले बताउनुभयो। दुवैजनाको शुक्रबार पालमै मृत्यु भएको हो। ‘बिरामी रहेको अवस्थामा भूकम्प आएको र घरबाहिर बस्नुपर्दा त्रासको वातावरण पनि रह्यो, चिसोसमेत बढेका कारण उनीहरूको मृत्यु भएको देखिन्छ,’ अध्यक्ष बस्नेत बताउनुहुन्छ। चिसोका कारण अझै समस्या हुने उहाँले बताउनुभयो। कुशे गाउँपालिका ११ देखि ४८ सय मिटरको उचाइसम्ममा रहेकाले अब यहाँ अध्यधिक चिसो हुने उहाँको भनाइ छ । चिसोलाई मध्यनजर गरेर पालिकाका युवाहरूलाई भूकम्प प्रभावितका लागि सानासाना गोठ निर्माणमा लगाएको उहाँले जानकारी गराउनुभयो। पालिकामा ४ हजार ६ सय २ घरपरिवार रहेकामा अहिले लगभग सबै पालको सहारामा रहेको उहाँले बताउनुभयो। 

जिल्ला अस्पतालका सूचना अधिकारी खत्रीले जिल्लाभरमै चिसोका कारण समस्या बढ्न थालेको बताउनुभयो। जिल्लाका भूकम्प प्रभावित ठाउँमा बुझ्दा चिसोका कारण समस्या बढ्न थालेको र स्वास्थ्य संस्थामा आउनेको संख्यामा वृद्धि भइरहेको देखिएको उहाँले बताउनुभयो। चिसो अझै बढ्दो क्रममा रहेको र शनिबार बिहानदेखि वर्षासमेत भइरहेका कारण थप समस्या हुने उहाँको भनाइ छ । स्वास्थ्य समस्यालाई ध्यानमा राखेर जिल्लाभरमा २६ वटा टोली बनाएर एक सय ४४ जना स्वास्थ्यकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो । यसमा केही जिल्लाबाहिरबाट आएका चिकित्सकसहितका स्वास्थ्यकर्मी छन् भने बाँकी जिल्ला अस्पताल तथा स्थानीय तहका स्वास्थ्यकर्मी छन् । नगर प्रमुख बस्नेतले पनि चिसोबाट भूकम्प प्रभावितलाई जोगाउन स्वास्थ्यकर्मीलाई अलर्ट राखिएको बताउनुभयो। पालिकाभरमा डाक्टरसहित ७० देखि ७५ जनासम्म स्वास्थ्यकर्मी परिचालन गरिएको उहाँको भनाइ छ । नगर अस्पताललाई समेत व्यवस्थित गर्ने काम भएको उहाँले बताउनुभयो। 

त्यसैगरी, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १ मा रहेको चाइनाबगर स्वास्थ्य चौकी भूकम्पले ध्वस्त बनाएपछि यतिवेला पालबाट सञ्चालित छ । स्वास्थ्य चौकीलाई पालबाटै सेवा दिन भ्याइनभ्याई छ । यो क्षेत्र भूकम्पबाट प्रभावित क्षेत्र भएकाले स्वास्थ्य सेवा कार्यालयले डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । यहाँ डाक्टर शिवजी कार्की खटिएका छन् । चिसोका कारण बिरामी बढ्न थालेको उहाँले जानकारी दिनुभयो । अहिले दैनिक ४० भन्दा बढी चिसोका बिरामी उपचारका लागि आउने गरेका छन् । यी सबै भूकम्प प्रभावित हुन् । पालमुनिको वासले भूकम्प प्रभावितलाई ज्वरो, निमोनिया, रुघाखोकीलगायत समस्या देखिन सुरु गरिसकेको डाक्टर कार्कीको भनाइ छ । केही सुन्निएका बिरामीसमेत छन् । केही भने भूकम्पका कारण चोटपटक लागेका बिरामी छन् । अहिले नै उच्च जोखिम नरहे पनि लक्षण भने राम्रो नरहेको उहाँ बताउनुहुन्छ। अब चिसो झन् बढ्ने भएकाले समस्या बढ्ने उहाँको अनुमान छ । 

जिल्लामा सबैभन्दा बढी प्रभावित आठबिसकोट नगरपालिकामा पनि चिसोका कारण बिरामी बढ्न थालेका छन् । नगरको घेत्मा स्वास्थ्य चौकी पनि भूकम्पका कारण पूर्ण रूपमा ध्वस्त छ । त्यहाँ पनि पाल राखेर सेवा प्रवाह भइरहेको छ । यो स्वास्थ्य चौकीमा पनि बिरामी चाप दिनदिनै बढ्दै गइरहेको डाक्टर अविनाश धरालाले बताउनुभयो। भूकम्प प्रभावितको स्वास्थ्यलाई ध्यानमा राखेर यहाँ डाक्टर धराला नेतृत्वको टोली परिचालित छ । चिसोले समस्या बनाउन थालिसकेको डाक्टर धरालाले बताउनुभयो। बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती तथा सुत्केरी महिला दैनिक सेवा लिन आइरहेका छन् । भूकम्प प्रभावितलाई मुख्य गरी चिसोले नै सताउन थालेको र बिरामी पर्न थालेको उहाँको भनाइ छ । यसरी नै बिरामीको संख्या बढ्दै जाने हो भने ठूलो समस्या आउनबाट कसैले रोक्न नसक्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो।

त्यस्तै, सरकारले जाजरकोट भूकम्पबाट प्रभावित १२ जिल्लामा तत्काल अस्थायी आवास बनाउन कार्यविधि पारित गर्दै छ । २०७२ पछिका भूकम्पबाट घरबार गुमाएकालाई स्थायी र अस्थायी आवासका लागि अनुदान दिन छुट्टै व्यवस्था नरहेकाले सरकारले भूकम्पपीडित अस्थायी आवास निर्माणसम्बन्धी कार्यविधि पारित गर्न लागेको हो । कार्यविधि उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय विपत् व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आइतबार दिउँसो साढे १२ बजे बस्ने कार्यकारी समितिले गर्नेछ । कार्यविधि पारितसँगै भूकम्पबाट घर पूर्ण र आंशिक क्षति भएका कारण घरबाहिर पुगेका जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लामा अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजार निकासा गर्नेदेखि भूकम्पपीडितका सन्दर्भमा अन्य निर्णय हुनेछन् ।