नेपाल र चीनबीचको कोरला नाका सञ्चालनमा आएसँगै मुस्ताङवासीमा उत्साह
2023-11-14 16:50:59cri
Share with:

चार वर्षदेखि बन्द रहेको नेपाल र चीनबीचको मुस्ताङस्थित कोरला नाका सोमबारदेखि नियमित रुपमा सञ्चालनमा आएपछि माथिल्लो मुस्ताङमा उत्साह छाएको छ। सोमबार बिहान १० बजेदेखि औपचारिक रुपमा कोरला नाका सञ्चालनमा ल्याइएको हो। नाका सञ्चालनमा आएसँगै माथिल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयहरुले सस्तोमा  चिनियाँ सामान आयत गर्न पाएपछि खुसी भएका गोरखापत्र अनलाइनले लेखेको छ।

कोरोना महामारीका कारण नाका बन्द हुँदा माथिल्लो मुस्ताङका स्थानीयहरुको दैनिक जनजीवन प्रभावित बनेको थियो। यहाँ प्रायजसो चीनका सामानहरु उपभोग गरिन्छ। पोखरा, बेनी हुँदै माथिल्लो मुस्ताङ पुगेका सामान तेब्बर महँगो हुन्छ। नाका सञ्चालन भएसँगै दैनिक उपभोग्य वस्तुहरु, लत्ताकपडा र निर्माण सामग्री सुलभ दरमा आयत हुने लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छयुमी बिष्ट गुरुङले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘विगत चार वर्षदेखि नाका पूर्णरुपमा बन्द हुँदा माथिल्लो मुस्ताङका स्थानीयहरुको दैनिक जनजीवन कष्टकर बन्यो। सामानहरु धेरै महँगाे मूल्य तिरेर ल्याउनुपर्ने बाध्या थियो। अब नाका नियमित रुपमा सञ्चालनमा आएसँगै चीनतर्फबाट धेरै सस्तोमा सामान ल्याउन पाइने भएको छ।’’ नाका सञ्चालन भएसँगै माथिल्लो मुस्ताङका स्थानीयहरु खुसी भएको उहाँको भनाइ छ।

लोमान्थाङका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयहरुका लागि सञ्चालन हुने नाकामा आवतजावतका लागि अनुमतिपत्र वितरण गरिएको छ। अनुमति पत्रका आधारमा माथिल्लो मुस्ताङका सर्वसाधारणहरु कोरला नाकामा आवतजावत गर्न पाउँछन्।

नाका सञ्चालनमा आएपछि स्थानीयहरु उत्साहित भएको लोमान्थाङ गाउँपालिका वडा नम्बर २ भार्चाका वडाध्यक्ष कर्म नामगेल गुरुङले बताउनुभयो। सोमबार नाकाबाट दैनिक उपभोग्य वस्तुहरु आयत भएको उहाँको भनाइ छ। चीन सरकारको सहयोगमा कोरला नाकामा अस्थायी भन्सार कार्यालय र शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) का लागि संरचना निर्माण गरिएको छ।